अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

अमेरिकामा २ लाख ३१ हजार १४३ नेपालीहरू

बिआरटीनेपाल २०७३ माघ ४ गते २२:५८ मा प्रकाशित

एउटा सधैँ अनुत्तरित प्रश्नको अन्त्य

गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको पाचौ साधारण सभामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, अमेरिकाका लागी नेपाली राजदूत डा अर्जुन कार्की तथा एनआरएन अध्यक्ष डा केशव पौडेलले नेपाली अमेरिकन जनसङ्ख्या तथ्याङ्क सङ्कलन कमिटीले बुझाएको रिपोर्ट सार्वजनिक गरे। यो अमेरिकामा नेपालीहरूको सङ्ख्याको पहिलो आधिकारिक तथ्याङ्क हो ।

उक्त साधारण सभामा कार्यदलका सदस्य विजय राज भट्टराईले उक्त तथ्याङ्क गणनाको १५ मिनेट लामो प्रजेण्टेशन गर्दै एउटा सधैँ अनुत्तरित प्रश्न (अमेरिकामा कति नेपालीहरू छन् ?) को तथ्याङ्क पहिलो पटक सार्वजनिक गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै एनआरएनलाई यस अवसरको निमित्त कमिटिका तर्फबाट धन्यवाद दिए । 

अमेरिकामा नेपालीको जनसङ्ख्या कार्यदलमा एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई संयोजक थिए। त्यस्तै सदस्यहरूमा विजयराज भट्टराई, सूर्य लम्साल, आमोद पोखरेल, दीपकराज काफ्ले, डोलेश्वर भण्डारी, किरण सिटौला, सन्जिता प्रधान, शिव गौतम र नेपाली दूतावासका तर्फबाट कैलाश पोखरेल सदस्य थिए।

नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावाससँगको सम्झौता गरी निकै गहिराइमा पुगेर झन्डै ८-९ महिनाको निकै मेहनतले अमेरिकामा नेपालीहरूको सङ्ख्या निकाल्न सफल भएको बताउछन अर्का कार्यदल सदस्य सूर्य लम्साल । यस अघि यो सङ्ख्याको एकिन नहुदा मान्छे पिच्छे जताभावी सङ्ख्या भनिने गरिन्थ्यो।अब अमेरिकामा नेपालीको सङ्ख्या ठ्याक्कै एकिन नभएपनि हाराहारीको निकट भने आएको छ। हामीले निकाल्दा दुई लाख ३१ हजार नेपाली रहेको भेटियो । त्यसमा २० हजार हाम्रो तथ्याङ्कमा तलमाथि रहेको हुनसक्ने अनुमान गर्दा झन्डै दुईलाख ५१ हजार रहेको अनुमान हामीले गरेका छौँ,’ नेपालीहरूको सङ्ख्या छानबीन कार्यदलका सदस्य विजयराज भट्टराईले भने।

अमेरिकामा रहेका नेपालीहरू मध्ये ५२ प्रतिशत गैरआप्रवासी भिसामा रहेका छन्। त्यस्तै ४८ प्रतिशत ग्रीनकार्ड या नागरिकता छ। नेपाली बाबु आमाबाट अमेरिकामा जन्मेका बालबालिकाको सङ्ख्या १९ हजार रहेको भट्टराईले बताए । अमेरिकी जनगणना, अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, युएस डिपार्टमेन्ट अफ स्टेट र नेपालको जनसङ्ख्यालाई समेत अध्ययन गरेर प्रतिवेदन निकालिएको हो। औषत वार्षिक १५ हजार पाँचसयका दरले नेपालीको सङ्ख्या अमेरिकामा थपिँदै गएको अनुमान छ।

‘यो हाम्रो प्रारम्भिक प्रतिवेदन हो, अब हामी कुन राज्यमा कति नेपाली छन् र कस्तो अवस्थामा छन् भनेर वृस्तृतमा अध्ययन गर्नेछौँ,’ कार्यदलका संयोजक डिल्ली भट्टराईले भने। त्यसपछि नेपालीको एकिन सङ्ख्या पत्ता लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू