अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

५१ देशका ३ सय ३९ नागरिक नेपालबाट निष्कासित

बिआरटीनेपाल २०७३ पुष २८ गते २०:१२ मा प्रकाशित

नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो ।

गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए । सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन् । चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन् ।

चीनका १२४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५ र पाकिस्तानका १४ नागरिक निष्कासनमा परेका छन् । त्यस्तै, बेलायतका १३, क्यानडाका १२, जर्मनीका १०, कोरिया र अस्ट्रेलियाका आठ–आठ, उज्वेकिस्तान, इटाली र इजरायलका ६-६ नागरिक निष्कासनमा परेका छन् ।

अध्यागमन विभागका अनुसार फ्रान्सका र स्विट्जरल्यान्डका पाँच–पाँच, नेदरल्यान्ड र डेनमार्कका चार–चार, पेरू र मलेसियाका तीन–तीन नागरिक निष्कासित भएका छन् । ताइवान, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, पोल्यान्ड र इरानका दुई–दुई नागरिक निकालिएको विभागले जनाएको छ । श्रीलंका, टर्की, युक्रेन, केन्या, बुल्गेरिया, बहराइन, अस्ट्रिया, जापान, इन्डोनेसिया, आइभोरीकोस्ट, स्लोभाकिया, इजिप्ट, भुटान, क्रोएसिया, ट्युनिसिया, सिंगापुर, तान्जानिया, चेक रिपब्लिक, थाइल्यान्ड, माली, स्पेन, लेबनान, फिनल्यान्ड र मेक्सिकोका एक–एकजना नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमनले जनाएको छ ।

जरिवाना गरेर निष्कासन
अध्यागमनसम्बन्धी अपराध (ओभरस्टे)मा बस्नेहरूलाई दैनिक पाँच डलरका दरले भिसा शुल्क तथा दैनिक दुई सय रुपैयाँका दरले जरिवाना असुलेर अध्यागमन विभागले निष्कासन गर्छ । ५-६ वर्षसम्म अवैध रूपमा बस्दै आएका विदेशीसमेत पक्राउ परेको र जरिवाना गरेर निष्कासन गरिएको विभागले जनाएको छ ।

सबैभन्दा धेरै एक सय २४ चिनियाँ निष्कासित
अध्यागमनको नियम नमानेको तथा विभिन्न अपराधमा संलग्न भएको आरोपमा सरकारले एक वर्षमा एक सय २४ चिनियाँ नागरिकलाई निष्कासन गरेको छ । सन् २०१६ मा ओभरस्टेमा एक सय ११ तथा अन्य अपराधमा संलग्न १३ चिनियाँ नागरिक निष्कासित भएका हुन् ।

धेरैजसो लागुऔषध मुद्दाका अपराधी :
अन्य अपराधमा निष्कासनमा परेका ६२ मध्ये ११ लागुऔषध मुद्दाका अपराधी छन् । नौजना नक्कली पासपोर्ट प्रयोग गर्ने, १० विदेशी मुद्राको कारोबारमा संलग्न छन् । कल बाइपासको अपराधमा पक्राउ परेका ६ जना पनि निष्कासित भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू