अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

इटहरीका युवाहरूले राष्ट्रिय पोशाक दिवस मनाए

बिआरटीनेपाल २०७३ पुष १८ गते ९:५१ मा प्रकाशित

इटहरी, १७ पुष । इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय थाहा रोटयाक्ट क्लब अफ इटहरीको संयोजन तथा २४ भन्दा बढी गैर सरकारी सङ्घ संस्थाको सहकार्यमा आज चौथो राष्ट्रिय पोशाक दिवस इटहरीको मुख्य चोकमा सम्पन्न गर्दै राष्ट्रिय पोशाकको महत्वका विषयमा व्यापक चर्चा गरिएको छ ।

सो अवसरमा राप्रपा नेपालको वरिष्ठ नेता तथा भूतपूर्व भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपालीहरूले गौरव गर्ने केही महत्त्वपूर्ण बस्तुहरुमध्ये राष्ट्रिय पोशाक दौरा सुरुवा टोपी तथा महिलाहरूले लगाउने साडी चोलीप्रति यदि कसैले गौरव गर्न खोज्दैन भने त्यसले नेपालीको महत्त्व नबुझे सरह हुने दाबी गर्नुभयो । 

हामीले हामी नेपाली हुनुको पहिचान दिन सकेनौ र पश्चिमा संस्कृतिको नक्कल गरेर नेपालीप्रति उपेक्षा गर्ने गराउने कार्यमा लिप्त भयौ भने त्योभन्दा दुर्भाग्य अरू केही हुन सक्दैन भन्नु हुँदै नेता सुब्बाले भावी पुस्तालाईसम्म हामीले नेपालको गौरव गर्ने पहिचानलाई जीवित राख्नु नेपाली हुनुको इमान्दारिता हो भन्ने कुरा तर्फ पनि सबैको ध्यानाकर्षण गराउनुभयो ।

‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राष्ट्रिय पोशाक दिवसको रूपमा मनाइएको अभियानको संयोजक सस्था तथा रोटयाक्ट क्लब अफ इटहरीका अध्यक्ष बिकल पौडेलले जानकारी दिनु भएको छ । सहभागी युवाहरूले राष्ट्रिभावले भरिपूर्ण गीतहरू मेरो टोपी कैलाशको शिर जस्तो, गाउछ गीत नेपाली जस्ता गीतहरू सामूहिक रूपमा गाएका थिए । कार्यक्रममा सहभागी युवाहरूले नेपाली पोशाक र नेपाली टोपी लगाएका थिए । कार्यक्रममा युवाहरू मात्रै होइन बालबालिकादेखि महिला साथै ज्येष्ठ नागरीहरुकोसमेत उल्लेख्य सहभागिता थियो । कार्यक्रममा पत्रकार, साहित्यकारहरुको पनि बाक्लो उपस्थित थियो ।


कार्यक्रममा ्संयोजक भुपेन्द्र निरौलाले कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी नेपालीहरूलाई एक सूत्रमा बाड्न कार्यक्रम आयोजना गरेको बताए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ता श्याम पोख्रेरेलले राष्टियता सङ्कटमा पर्न थालेको अवस्थामा आ आप्mनो ठाउबाट सबैले सहयोग गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै रोटरीएन लक्ष्मी थेबेले युवाहरुमा नेपाली पहिचानप्रति आकर्षण बढ्दो रहेको र नेपालीपन झल्किने नेपाली पोशाकको जगेर्नामा सबै एकजुट हुनुपर्ने बताउनु भएको थिए ।

उक्त कार्यक्रममा गोविन्द सोनी, लक्ष्मी थेवे, संजिब ढुङ्गाना कृष्ण विनोद लम्साल, मधु रिमाल, लक्ष्मी धिताल, लगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू