अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 13:59

सर्वोच्च अदालतभित्रै लोकमानलार्इ कालोमोसो-लोकमानको आक्रोश,कतिको शरीरमा वस्त्र बाँकी रहला?

बिआरटीनेपाल २०७३ पुष ७ गते २०:१३ मा प्रकाशित

काठमाडौः आफूविरुद्ध दायर पुनरावलोकन मुद्दामा तारिख बुझ्न सर्वोच्च अदालत पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि अदालतको मुद्दा फाँटभित्रै कालोमोसो दलेर दुव्र्यवहार गरिएको छ ।

विप्लव नेतृत्वको नेकपा (माओवादी) ले उपत्यका बन्द राखेका कारण उच्च सुरक्षा घेराबीच सर्वोच्च पुगेका कार्कीमाथि भएको दुव्र्यवहारका कारण न्यायपालिकाको सुरक्षा व्यवस्थाप्रति गम्भीर चिन्ता उत्पन्न भएको छ । कार्कीलाई दिउँसो सवा चार बजे कालोमोसो दलिएको थियो । विप्लव माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढाले कार्कीमाथि हातपात गर्दै कालोमोसो दलेका हुन् । उक्त घटनाको जिम्मा विप्लव माओवादीले लिएको छ ।

सर्वोच्चको आठ नम्बर फाँटमा पुगेर तारिखमा हस्ताक्षर गर्दै गर्दा पछिबाट मोसो दलिएको थियो । मोसो दलेलगत्तै उनीहरूले सर्वोच्चको फाँटभित्रै ‘नेकपा माओवादी जिन्दावाद’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘हत्यारालाई कारबाही गर’ भन्दै नाराबाजीसमेत गरे । कार्कीलाई मोसो दलेर भाग्दै गर्दा उनीहरूलाई सर्वोच्चको सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

उपत्यका बन्द र कार्कीविरुद्धको रिटमा सुनुवाइका कारण अत्यन्त कडा सुरक्षा रहेको सर्वोच्चमा उनीहरू कालोमोसो लिएर कसरी प्रवेश गरे भनेर आश्चर्य उत्पन्न भएको छ । मुद्दामा भएको सुनुवाइका क्रममा सर्वोच्चले दिएको प्रेस पास लिएर जाने पत्रकारलाईसमेत सुरक्षाको कारण देखाएर प्रहरीद्वारा इजलास प्रवेशमा बन्देज लगाइएको थियो । आक्रमणपछि कार्की कुनै प्रतिक्रिया नदिई चुपचाप रहे । पिउनलाई आफ्नो गाडीमा राखेको पानी मगाएर मोसो धोए र उनी बाहिरिए ।

कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको पुनरावलोकन मुद्दामा भएको सुनुवाइपछि पेसी तारिख बुझ्न कार्की फाँटमा प्रवेश गर्नासाथ कर्मचारी र सुरक्षाकर्मीकै अगाडि यस्तो दुव्र्यवहार भएको हो । सर्वोच्चका रजिस्ट्रार श्रीकान्त पौडेलले उक्त घटनाका विषयमा अदालतबाहिर रहेका कारण जानकार नरहेको बताए ।

‘म कार्यक्रममा रहेकाले सबै कुरा थाहा भएन । प्रतिवेदन आएपछि मात्र थाहा होला’, पौडेलले अन्नपूर्णसँग भने । कार्कीमाथि भएको दुव्र्यवहारपछि सुरक्षा व्यवस्थाको कमजोरी समीक्षा गर्न सर्वोच्चमा खटिएका न्यायिक प्रहरी प्रमुख एसपी जनक भट्टराईसहित सुरक्षाकर्मीको आकस्मिक बैठक बसेको थियो ।

सर्वोच्च सुरक्षाका लागि हाल ७० जना न्यायिक प्रहरी खटिएका छन् । ‘यो निन्दनीय घटना भयो । सभ्यता र मानवीय मर्यादाकै प्रतिकूल घटना हो’, कार्कीविरुद्ध मुद्दा दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘न्यायपालिकामा सुरक्षा कमजोरी देखियो । धेरै सुधार गर्नुपर्ने हुन्छ ।’

कार्कीविरुद्धको मुद्दामा निवेदक अर्यालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रविनारायण खनाल, अधिवक्ता गोविन्द शर्मा बन्दी, विजयप्रसाद मि श्र, सुनिल पोखरेल, रमेश बडाल, चन्द्रकान्त ज्ञवाली र सुरेन्द्र भण्डारीले बहस गरे । सरकारका तर्फबाट सहन्यायाधिवक्ता किरण पौडेलले कार्कीको प्रतिरक्षा गरे । बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले लोकतान्त्रिक आन्दालेपछि गठित रायमाझी आयोगको प्रतिवेदनले कारबाही सिफारिस गरेका व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस गर्दा संविधानको स्वीकार्यतामै प्रश्न उठ्ने जिकिर गरे ।

‘रायमाझी आयोगको प्रतिवेदनको जुन जगमा संविधान बन्यो त्यही आयोगले कारबाही सिफारिस गरेका व्यक्तिलाई अख्तियार प्रमुख बनाउँदा संविधान र शासनप्रणाली कसरी स्वीकार्य हुनसक्ला ? ‘ बहसमा थापाले भने । बहस शुक्रबार पनि निरन्तर छ ।

भ्रष्टाचारमा कतिको वस्त्र बाँकी रहलाः कार्की

 

काठमाडौंः आफूमाथि भएको दुव्र्यवहारपछि अख्यिारका निलम्बित प्रमुख कार्कीले आफ्नो कर्तव्य निर्वाह गरेबापत दण्डित हुनुपर्ने अवस्था आएको बताउँदै भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपरे त्यसबेला कैयन सीमाहरू भत्कन सक्ने चेतावनी दिएका छन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रूपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्‍याइन्छ भने सचेत नेपाली नागरिकका रूपमा भ्रष्टाचारविरुद्धको अभियान चलाउनु मेरो स्वाभाविक कर्म हुनेछ’, कार्कीद्वारा जारी अपिलमा भनिएको छ, ‘त्यसबेला कतिको शरीरमा वस्त्र बाँकी रहला, समयले नै बताउनेछ ।’

आफूले राष्ट्रसेवकका रूपमा देश र जनताको सेवामा समर्पित भई कार्य गरिरहँदा विगतदेखि विभिन्न अवरोध र चुनौतीको सामना गर्नुपरेको पनि बताएका छन् । ‘पछिल्लो समयमा ममाथि नियोजित ढंगले लगाइएका लाञ्छना, आरोप र दोषारोपणका शृंखलाहरू मलाई हतोत्साहित गर्ने कुत्सित प्रयासका उपज हुन् भन्ने मलाई लागेको छ’, कार्कीले भनेका छन् । लोकतन्त्र कसैप्रति पूर्वाग्रही नहुने र योग्यता र क्षमताको उच्च मूल्यांकन हुन्छ भन्ने विश्वास आफूलाई रहेको उनको अपिलमा उल्लेख छ ।

अख्तियार प्रमुखमा आफ्नो नियुक्तिकै दिनदेखि देशबाट अनियमितता र भ्रष्टाचार उन्मूलन गर्ने अठोट गरेको स्मरणसमेत उनले गराएका छन् । ‘हामीले यसरी सक्रियता दर्साउँदा जनता प्रसन्न भएकै हुन् र भ्रष्टाचारीहरू थर्कमान र निरुत्साहित पनि अवश्य बनेका हुन्’, कार्कीले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धको कामकारबाहीलाई सघन र सशक्त बनाउन खोज्दा खास दलका नेता र कतिपय माननीय सांसदज्यूहरू केकति कारणले मेराविरुद्ध महाभियोगको बाण हान्न अग्रसर हुनुभएको हो, यो मैले बुझ्नसकेको छैन ।’

अख्तियारले निश्चित समूह वा क्षेत्रमाथि मात्र आँखा लगाएको भन्ने जनगुनासोलाई दृष्टिगत गरी आफूले अनुसन्धान, छानबिन र कारबाहीको दायरा फराकिलो बनाएको पनि बताएका छन् । अनुसन्धान र कारबाहीको दायरा विस्तार गरेसँगै आफूविरुद्धका गतिविधिमा तीव्रता आउनु र महाभियोग लगाउने प्रपञ्च रचिनु संयोगमात्र नरहेको अपिलमा उल्लेख छ । आफूविरुद्ध विदेशबाट फर्केलगत्तै छापामार शैलीमा महाभियोग ल्याइएको भन्दै सबै घटनाको इतिहासले मूल्यांकन गर्ने पनि उनको अपिलमा जनाइएको छ ।

‘स्वदेशमा आर्जित धन गैरकानुनी रूपले विदेशी बैंकमा जम्मा गर्ने र राज्यको प्रचलित कानुनविपरीत विदेशमा लगानी गर्नेहरूलाई कानुनबमोजिम कारबाही प्रक्रिया सुरु गरेर मैले के गल्ती गरें ? ‘ कार्कीको प्रश्न छ । उनले आफू महाभियोगको चक्रव्यूहबाट मुक्त हुने विश्वाससमेत व्यक्त गरेका छन् । ‘म यतिबेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरू खोल्न चाहन्नँ तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन’, कार्कीको चुनौती छ । अन्नपुर्ण पोष्ट दैनिकमा  समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू