अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

साहित्यकार विद्याको ‘छैटौं इन्द्रिय’ बजारमा

बिआरटीनेपाल २०७३ मंसिर २० गते ९:१८ मा प्रकाशित

साहित्यकार विद्याप्रसाद घिमिरेको ‘छैटौं इन्द्रिय’निबन्ध सङ्ग्रह बजारमा आएको छ । घिमिरेद्वारा विभिन्न शिर्षकमा लेखिएका १९ वटा निबन्ध समावेश रहेको ‘छैटौं इन्द्रिय’ ट्रिनिटी प्रकाशनले भर्खरै बजारमा ल्याएको हो ।

विगतदुई दशकदेखि साहित्यका विभिन्न विधामा सशक्त कलम चलाउँदै आएका घिमिरेको यसअघि २०६७ सालमा ‘सेलाएको घाम’ नामक कविता सङ्ग्रह प्रकाशित छ । उनीद्वारा रचित तीन दर्जन भन्दा बढी गीतहरू रेकर्ड भएर विभिन्न सञ्चार माध्यमबाट गुञ्जिरहेका छन् ।
नेपाल प्रहरीबाट नियमित प्रकाशित हुने ‘प्रहरी’ द्वैमासिक पत्रिकामा झन्डै डेढ दशक देखि आबद्ध रहेका घिमिरे एक दशक देखि सो पत्रिकामा सम्पादकको जिम्मेवारी समालिरहेका छन् ।

घिमिरेद्वारा विभिन्न शिर्षकमा लेखिएका १९ वटा निबन्ध समावेश रहेको यस निबन्ध सङ्ग्रह १९२ पृष्ठमा फैलिएको छ । राष्ट्रकवि माधव घिमिरेद्वारा शुभेच्छा व्यक्त गरिएको यस कृतिमा वरिष्ठ निबन्धकार युवराज नयाँघरेले घिमिरेको सशक्त निबन्ध लेखनीबाट आफु लाभान्वित भएको उजागर गरेका छन् ।

वरिष्ठ समालोचक एवं त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको भूमिका मन्तव्य रहेको ‘छैटौं इन्द्रिय’सङ्ग्रहमा पूर्वीय र पाश्चात्य संस्कृतिका विविध सन्दर्भहरूको तुलनात्मक अभिव्यक्ति छन् । प्रस्तुत निबन्ध सङ्ग्रहमा ज्ञान र विज्ञानका विविध सन्दर्भहरू समेटिएका छन् भने कतिपय रचनामा संस्कृत भाषा र साहित्यको महत्व माथि पनि प्रकाश पारिएको छ । योगको महत्वबारे विशेष प्रकाश पार्दै योगको विषयमा खोज हुनुपर्ने पक्षमा जोड दिइएको छ । कृति भित्र धर्मबारे विभिन्न तर्क सहितका दृष्टिकोणहरू छन्, जुन यथार्थ मूलक छन् ।

यसमा संग्रहीत सबैजसो रचनामा निर्भीक अभिव्यक्ति छ भने सामाजिक, राजनैतिक, धार्मिक आदि क्षेत्रमा व्याप्त विसङ्गति र विकृतिलाई नलुकाई सोझै प्रस्तुत गरिएको छ । स्पष्ट वैचारिकता र यथार्थ मूलक दृष्टिकोण रहेको यस कृतिमा समाविष्ट सबै रचनाहरू सहज पठनीय, ज्ञानबर्धक, सूचना मूलक र खोज मूलक छन् । एउटै तथ्यलाई पुष्टि गर्न अनेकौं सन्दर्भहरू प्रस्तुत गर्दै आयामलाई विस्तार गर्नु कृतिकारको सराहनीय पक्ष देखिन्छ । गीतकार रमेश पौडेलले आवरण तयार गर्नुभएको ‘छैटौं इन्द्रिय’को बजार मूल्य रू. २७५ राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू