अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्न हिमालयन ट्राभल मार्ट शुभारम्भ

बिआरटीनेपाल २०७३ मंसिर १९ गते ७:३४ मा प्रकाशित

नेपालको पर्यटन उद्योगको प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट २०१७’ को शुभारम्भ समारोह आयोजना गरिएको छ । विश्वमै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने तथा नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्ने उद्देश्यकासाथ प्यासिफिक एशिया ट्राभल एशोसिएशन अफ नेपाल (पाटा, नेपाल)ले आज एक कार्यक्रम गरी मार्टको शुभारम्भ गरेको हो ।

आगामी वर्ष २०१७, जुन १ देखि ४ सम्म नेपालमा आयोजना हुने ‘हिमालयन ट्राभल मार्ट २०१७’ कार्यक्रमको आज नेपाल सरकारको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटनसम्बन्धी संघ संस्था, एयरलायन्स, होटल तथा सरोकारवाला निकायहरुको प्रतिनिधि एवं संचारकर्मीहरुको उपस्थितीमा शुभारम्भ समारोह आयोजना गरिएको छ साथैं ‘हिमालयन ट्राभल मार्ट २०१७’ को प्रतिक चिन्ह (लोगो)लाई सार्वजनिक गरिएको छ ।

पर्यटन उद्योगको व्यवसायिक प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर प्राप्त हुने यस मार्टमा नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मार तथा पाकिस्तानका पर्यटन व्यवसायीहरुले युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, रसिया तथा सीआइएस, एसिया र खाडी मुलुकका व्यवसायीहरुलाई आफ्ना प्याकेजहरु विक्री गर्न सक्नेछन् । साथै उनीहरुले व्यवसायिक प्रवद्र्धनका अवसरहरुको खोजी गर्न सक्नेछन् । ‘हिमालयन ट्राभल मार्ट २०१७ मा विभिन्न मुलुकबाट आउने टुर अपरेटर, ट्राभल ब्लगर्स तथा संचारकर्मी, अन्तर्राष्ट्रिय वक्ताहरु, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु गरी २०० जनाले भाग लिने अनुमान गरिएको छ ।

‘हिमालयन ट्राभल मार्ट २०१७’ सुरु हुनु अगावै पाटा नेपालले अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा संचारकर्मीहरुलाई नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिने उद्देश्यले आगामी २०१७ को २२ मे देखि जुन १ सम्म इन्टरनेशनल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्सको पनि आयोजना गर्नेछ । उक्त कन्फ्रेन्सका प्रतिनिधिहरु २०१७ मे २९ तारिखका दिन सगरमाथा दिवस मनाउन पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा भेला हुनेछन् ।

‘हिमालयन ट्राभल मार्ट २०१७’ लाई सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा नेपाल पर्यटन बोर्ड, पर्यटन उद्योग क्षेत्र एवं विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधि सम्मिलित मुल आयोजक समित गठन गरिनेछ । उक्त समितिको महासचिव पाटा नेपाल रहने जानकारी गराईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू