राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको संवैधानिक प्रश्नबारे परामर्श गर्न संविधानविदहरुलाई शीतल निवास बोलाउनुभएको छ । शीतल निवास स्रोतकाअनुसार संविधानविद्हरू वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलाई परामर्शका लागि बोलाइएको हो ।
राष्ट्रपतिसँगको छलफलमा संविधानविद विपिन अधिकारी र नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे समेत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बने असंवैधानिक हुने तर्क गर्नुभएको छ। उहाँले राष्ट्रपतिलाई समेत यो बताउनुभएको थियो । प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित भइसकेको बेला संसदमा मतदानकै समयमा राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्न लाग्नुभएको हो ।
यता कांग्रेस र एमालेले आजै दुईतिहाइ सांसद र राजनीतिक दलहरूको समर्थनसहित केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लिखित पत्र लिएर राष्ट्रपतिसमक्ष जाँदैछन् ।