अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

भियतनामको अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ६ घाइते

बिआरटीनेपाल २०८१ जेठ ११ गते ७:२७ मा प्रकाशित

भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले शुक्रबार बताएको छ । मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (६ फिट पाँच इन्च) चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र विस्फोटको आवाज पनि सुनिएको थियो । आगो निभाउन एक घण्टा लागेको थियो ।  आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्ने गरी २४ जना रहेको सञ्चारमाध्यमले बताएको छ । घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोई ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मर्मत गर्नका लागि ग्यारेजका रूपमा प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो । पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो । अपार्टमेन्टमा जलेका मोटरसाइकलहरू र रुखहरू जलेका अवशेष तथा छरिएका सामानहरू थिए ।  मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार ९६२ डलर र घाइतेलाई एक हजार १७७ डलर दिने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू