अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

लुम्बिनीबाट १ हजार २५० जनाको धम्मयात्रा सुरू

बिआरटीनेपाल २०८० चैत ३ गते ६:०५ मा प्रकाशित

बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा सुरू भएको छ। शनिबार बिहान मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरू गरेका हुन्। लुम्बिनीबाट सुरु भएको धम्मयात्रा शनिबार भैरहवामा पुग्नेछ भने आइतबार नवलपरासीको रामग्राममा पुग्नेछ। श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य लगायतको टिमले मायादेवी मन्दिर परिसरबाट पुष्प अर्पण गरी यात्रा सुरू गराएका हुन्।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले धम्मयात्राले बौद्धशिक्षालाई समुदाय तहसम्म अघि बढाउनुका साथै लुम्बिनीमा धार्मिक गतिविधि र बुद्धशिक्षालाई प्रवर्द्धन गर्ने बताउनुभयो। अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको आयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रवज्या ९अल्पकालीन भिक्षु० गराइएको थियो। भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिन्छ। धम्मयात्रामा सहभागी अल्पकालीन भिक्षुहरुले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ।

बुद्धका सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रुपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ। भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ। ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो। यसरी धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्म सँगै प्रस्थान गर्नु हो। लुम्बिनीमा भएको १२५० जनाको प्रवज्याले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताउनुभयो ।

प्रतिक्रिया