अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

अमेरिकाबाट बढी लगानीकर्ता आउने वातावरण बनाइदिन राजदूतलाई अर्थमन्त्री पुनकाे आग्रह

बिआरटीनेपाल २०८० फागुन २७ गते ९:४७ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले आउँदो वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज मन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै उहाँले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तयार रहेको बताउनुभयो । अर्थमन्त्री पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताउनुभयो ।

उहाँले लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने भन्दै सरकारले तयारी तीव्र बनाएको बताउनुभयो । राजदूत थम्प्सनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिनुभयो । उहाँले अमेरिकी लगानीकर्ता नेपालमा आउने वातावरण बनाउन नेपालमा रहेको अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भेटवार्तामा राजदूत थम्प्सनले सङ्क्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । यसैगरी उहाँले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को अनुदानअन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको परियोजनाबारे पनि चासो राख्नुभएको छ । अर्थमन्त्री पुनले एमसीसी अन्तर्गतका परियोजनाको काम शुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू