अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

इलाम र बझाङमा वैशाख १५ गते उपचुनाव

बिआरटीनेपाल २०८० फागुन १३ गते ५:२४ मा प्रकाशित

निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले सरकारसँगको परामर्शअनुसार आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । त्यहाँ उपचुनाव हुनेछ । नेम्वाङको गएको भदौ २६ गते निधन भएको थियो ।

यस्तै प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (क) मा पनि उपचुनाव हुनेछ । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो । उपचुनावका लागि मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको र आउँदो बिहीवारदेखि रुजु सुरु हुने आयोगले जनाएको छ ।

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो त्यही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपचुनावको मिति तोकिएको आयोगले जनाएको छ । उपचुनावमा सहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोगले सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू