अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

साहित्यकार तथा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८० माघ १ गते ११:३६ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा कोलोराडोको नेपाली सांस्कृतिक केन्द्र भवनमा अग्रज साहित्यकार तथा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा अनेसासका केन्द्रीय सदस्य तारा अधिकारीले साहित्यकार जंगम र उहाँकी धर्मपत्नी इन्दिरा जंगमलाई खादा ओढाएर तथा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले फूल गुच्छा दिएर स्वागत गर्नुभएको थियो । अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष पदम विश्वकर्माले जंगमको साहित्यिक योगदान तथा उहाँको भ्रष्टाचार विरोधी अभियानको बारेमा चर्चा गर्नुभएको थियो भने अनेसासका पूर्व अध्यक्ष तथा गीतकार ज्ञानेन्द्र गदालले जंगमलाई अनेसास कोलोराडो शाखाले प्रदान गरेको सम्मान-पत्र हस्तान्तरण गर्नुका साथै जंगमले गर्नु भएको कार्यहरूको विषयमा आफूले तयार पारेको गीतको वाचन गर्नुभएको थियो । कार्यक्रम भिडियो

साहित्यकार जंगमले आफूद्वारा रचित तथा आफ्नो विषयमा लेखिएका थुप्रै पुस्तकहरू अनेसास कोलोराडो शाखालाई उपहार स्वरूप हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सदाचार दीप सम्मानको विषयमा वैकुण्ठ विक्रम थापाले प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा साहित्यकार जंगमले आफ्नो साहित्य सिर्जना तथा भ्रष्टाचार विरोधी अभियानको विविध पक्षको बारेमा चर्चा गर्नुभएको थियो साथै आफ्नो भ्रष्टाचार विरोधी अभियानमा सहभागी बन्न कोलोराडोमा रहेका नेपालीहरूलाई पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा दर्शकहरूसँग अन्तरक्रिया गर्ने क्रममा जंगमले दर्शक दीर्घाबाट सोधिएका विविध प्रश्नहरूको उत्तर दिनुभएको थियो । यसरी प्रश्न राख्नेहरूमा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विकास त्रिपाठी, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, अनेसास कोलोराडो शाखाका सल्लाहकार वासुदेव खनाल तथा अनेसास कोलोराडो शाखा पूर्व अध्यक्ष भूपेन्द्र महत हुनुहुन्थ्यो ।

कार्यक्रमको संचालन अनेसास कोलोराडोका महासचिव किरण अधिकारीले गर्नुभएको थियो भने सभापतित्व अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

प्रतिक्रिया