अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

एनसेलको सेयर खरिद बिक्री विवादबारे आजैदेखि छानबिन थाल्छौँ : संयोजक शर्मा

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:२१ मा प्रकाशित

सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिका संयोजक टंकमणि शर्मा दंगालले आजैदेखि छानबिनको काम अघि बढाउने बताउनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरे लगत्तै सिंहदरबार पुगेका संयोजक दंगालले सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्नका लागि समितिले आजैदेखि काम अघि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले महत्त्वपूर्ण र गम्भीर विषयमा छानबिनका लागि जिम्मेवारी दिएको छ । निर्धारित समयभित्र छानविको काम सम्पन्न गर्नका लागि आजैदेखि काम सुरु गर्दै छौँ । म अहिले सिंहदरबार आइसकेको छु । आज समितिको कार्यालय व्यवस्थापन लगायत काम अघि बढाउने प्रक्रियाका बारेमा समितिका साथीहरूसँग छलफल गर्दै छु । सरकार तथा समितिका साथीहरूसँग सहकार्य गरेर निष्पक्ष ढङ्गले छानबिन प्रक्रिया पूरा गर्छु ।’

मन्त्रिपरिषद्को बैठकले समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिएको छ । पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहनुभएको छ ।

नेपालमा सञ्चालित दूरसञ्चार सेवा एनसेल आजियटाले सतीशलाल आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूके कम्पनीलाई ८० प्रतिशत शेयर बिक्री गरेको खुलेपछि विवाद उत्पन्न भएको छ । ६ खर्बमा शेयर बिक्री भएको भनिए पनि ५ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ६६ अर्ब हाराहारीमा बिक्री भएको कुरा आएपछि संसदीय समितिहरू तथा सरकारले यो विषयमा चासो दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू