अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरूद्वारा जोड

बिआरटीनेपाल २०८० मंसिर १७ गते १४:१४ मा प्रकाशित

अमेरिका । विज्ञहरूले नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै भूकम्पबाट जोगिन पूर्व तयारीमा जोड दिएका छन् ।

जय नेपाल फाउन्डेसनले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख डा. सुबोध ढकालले इन्डियन र तिब्बतियन प्लेटको बिचमा रहेकाले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको बताउनु भयो । सन् १५०५ पछि पश्चिम नेपालमा ठुलो भूकम्प गएको छैन । अब हामीले भूकम्प प्रतिरोधात्मक क्षमताका घरहरू निर्माण गर्नलाई जोड दिनुपर्छ । त्यसका लागि सरकारले बनाएको नीति नियमहरू कार्यान्वयन गरेर अघि बढ्नु पर्छ । यसै गरी भूकम्पको विषयमा जनचेतना जगाउनका लागि काम सुरु गर्नु पर्छ,” उहाँले भन्नु भयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँग आबद्ध भूकम्पविद् डा. शिवा सुवेदीले सन् २००३ मा इरानमा ६.६ म्यग्निच्युडको भूकम्प जाँदा ३४ हजारको ज्यान गयो भने २०१६ मा न्युजिल्यान्डमा ७.७ म्यग्निच्युडको भूकम्पमा जम्मा ५७ जनाको ज्यान गएको बताउनु भयो । गोरखा र जाजरकोटमा गएको भूकम्पको तुलना गर्दा घर निर्माण गर्दा प्रयोग गरिएको तरिका तथा सामाग्रीहरू नै धेरै क्षतिहुनुको प्रमुख कारण रहेको पाइएको उहाँले बताउनु भयो । नेपालमा पनि भूकम्प पूर्व सूचना प्रणाली विकास गर्न सके कुनै ठाउँमा भूकम्प जाँदा देशैभर तुरुन्त यस सम्बन्धी जानकारी पुग्ने र ठुलो क्षतिहुनबाट जोगाउन सकिने उहाँले धारणा राख्नु भयो ।

अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्स ग्रेटर ह्युस्टन च्याप्टरका सल्लाहकार डा. राजेन्द्र श्रेष्ठले चिलीमा हैटीमा भन्दा शक्तिशाली भूकम्प जाँदा समेत भूकम्पको लागि पूर्व तयारी भएको कारण धेरै कम क्षति भएको बताउनु भयो । “हाम्रो हिमाली क्षेत्र भूकम्पको धेरै जोखिममा रहेकाले अन्य देशहरूको अनुसरण गर्दै अहिले देखि नै पूर्व तयारीमा लाग्नु पर्ने आवश्यकता छ,” उहाँले भन्नु भयो ।

क्यानडास्थित बिजीसी इन्जिनियरिङ इङ्कसंग आबद्ध जियोटेक्निकल इन्जिनियर डा. केशव शर्माले नेपालमा सन् २०१५, चिलीमा सन् २०१० र २०१४ मा गएको भूकम्पको तुलना गर्दा चिलीमा कम क्षति हुनुमा चिलिले हरेक पटक भवन कोडमा सुधार गर्दै जानु मुख्य कारण रहेको बताउनु भयो । भूकम्पबाट हुने क्षति कम गर्नको लागि चरणबद्ध रूपमा घरहरूको रेट्रोफिटिङ्ग गर्न आवश्यक भएको उहाँले बताउनु भयो ।

अष्ट्रेलियास्थित वैज्ञानिक डा. राजु अधिकारीले प्राकृतिक प्रकोप पश्चात् मानसिक रूपमा पर्ने असर कम गर्न मनोपरामर्श सेवा प्रदान गर्नु पर्ने बताउनु भयो । भू-प्राविधिक समाज, नेपालका अध्यक्ष डा. मन्दिर सुवेदीले संस्थागत विकासको लागि बढी ध्यान दिनु पर्ने तथा गाउँको साधारण व्यक्तिले समेत बुझ्ने गरी योजना तयार गर्न जरुरी रहेको बताउनु भयो ।

अमेरिकाको नेभादा विश्वविद्यालयमा पोस्ट डक्टरल स्कलर डा. सतिश मानन्धरले नेपाल, टर्की र न्युजिल्याण्डको उदाहरण दिँदै ठुलो भूकम्प पश्चात् सोही स्थानमा पराकम्पन आउन सक्ने र त्यसले धेरै क्षति पुर्‍याउन सक्ने जोखिम रहेको बताउनु भयो । मुख्य भूकम्प पश्चात् सोही स्थानमा आउने पराकम्पन आउने हुँदा सो सम्बन्धी जागरण बढाउने कार्यक्रम राखेर क्षति रोक्न सकिने बताउनु भयो ।

ऊर्जा मन्त्रालयका पूर्व सहसचिव इन्जिनियर मोती बहादुर कुँवरले जाजरकोटमा गएको भूकम्प पश्चात् आएको पराकम्पनले पचास हजार भन्दा बढी घरमा क्षति पुगिसकेको हुँदा यस तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

जोखिममा रहेका समुदायको जीवन रक्षामा जोड
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक प्रशासन तथा योजना मन्त्री वेदराज सिंहले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रहेका सुत्केरी, नवजात शिशु, वृद्ध लगायत जोखिममा रहेका समुदायको जीवन रक्षा गर्न तीनै तहका सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो । अहिले चिसो बढ्दै गएकाले ज्येष्ठ नागरिक, सुत्केरी र बालबालिकालाई जोगाउन अप्ठेरो परेको उहाँले स्वीकार गर्नु भयो । “न्यानो कपडा वितरण, घुम्ती स्वास्थ्य शिविर तथा अस्थायी टहरा निर्माण गरी जोखिममा रहेका जनताको ज्यान जोगाउन प्रदेश सरकारले सबै प्रयासहरू जारी राखेको पनि छ,” मन्त्री सिंहले भन्नु भयो । जाजरकोट जिल्लाको आफ्नै गाउँ भूकम्पको केन्द्र भएको बताउँदै उहाँले उद्धार तथा राहत वितरणमा संलग्न सबैलाई धन्यवाद दिनु भयो । “सरकार पुनः निर्माणको काममा समेत लागेको छ । आवश्यक श्रोत साधनका लागि सङ्घीय सरकार, दात्री संस्था तथा प्राविधिक परामर्शका लागि स्वदेश र विदेशमा रहेका विज्ञहरूको सहयोगको हामीले अपेक्षा गरेका छौँ,” मन्त्री सिंहले भन्नु भयो ।

Video

कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले सेमिनारमा प्रस्तुत विषयहरूलाई समेटेर थप छलफल तथा कार्यान्वयनको लागि एक प्रतिवेदन तयार गर्ने तथा आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताउनु भयो । जय नेपाल इन्टरनेशनल फाउन्डेसनका डा. नीरज श्रेष्ठले उक्त कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया