अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

संसद र समिति सञ्चालन गर्न सरकारले बजेट नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:२३ मा प्रकाशित

सभामुख देवराज घिमिरेले संसद र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताउनुभएको छ । सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारेमा सिंहदरबारमा छलफल गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संसद र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गर्नुभएको बताउनुभयो ।

सभामुख घिमिरेले नियमित समय बाहेक बैठक राख्दा कर्मचारीहरुलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरुले गरेको बताउनुभयो । उहाँले विगतमा संसदलाई विभिन्न विदेशी एवं दातृ निकायहरुबाट सहयोग प्राप्त हुने भएपनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको बताउनुभयो ।सभामुख घिमिरेले संसदीय गतिविधि अघि बढाउन आर्थिक पोटोलाई अर्थमन्त्री डा. महतले नियन्त्रण गर्नुभएको बताउनुभयो । बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसदलाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले विगतका बैठकमा कर्मचारीहरुलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद र संसदीय समिति चल्न कठिन रहेको बताउनुभयो ।

सभामुख घिमिरेले संसदीय समितिहरुमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै आवश्यक समिति सभापतिहरुले समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न समिति सभापतिहरुलाई निर्देशन दिनुभयो । सभामुख घिमिरेले समिति बनेको ५ महिना बितिसक्दासमेत समितिको कार्यक्षेत्र स्पष्ट नभएकोमा आपसी समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू