अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

नेपाल सुपर लिगः चितवनलाई पराजित गर्दै पोखराको विजयी सुरुवात

बिआरटीनेपाल २०८० मंसिर ९ गते ३:५९ मा प्रकाशित

नेपाल सुपर लिग (एनएसएल)मा शनिबार भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा भएको एक मात्र गोल पोखरालाई तीन अङ्कका लागि पर्याप्त बन्यो। चितवनलाई १–० ले पराजित गर्दा पोखराका लागि मोसेस ग्याबाहको एक मात्र गोल निर्णायक बन्यो। दोस्रो हाफमा मोसेसले स्टेफन कोजोको क्रसलाई आकर्षक गोलमा परिणत गरे। डिफेन्सले चितवनको डिफेन्स लाइनअपले क्लियर गर्न नसकेको बललाई उनले दोस्रो बार च्याप्दै गोल गरेका थिए।

त्यसअघि पहिलो हाफमा दुवै टिमले प्रतिस्पर्धात्मक खेल खेले पनि गोलका सीमित अवसर मात्र सिर्जना गरेका थिए। तर, दोस्रो हाफमा पोखराले गोलको खडेरी तोड्दै अग्रता बनायो। जुन अग्रता नै निर्णायक बन्दा उसले महत्वपूर्ण तीन अङ्कसहित खेलको सुखद सुरुवात गर्न सफल भयो। गत संस्करणमा पनि पोखराले चितवनलाई २–१ ले हराएको थियो।

शनिबार नै दोस्रो खेलमा ललितपुर र बुटवल भिड्दै छन्। अघिल्लो संस्करणको लिग चरणमा एकअर्काविरुद्ध भिड्दा ललितपुरले बुटवललाई १–० ले हराएको थियो। सोही लयलाई पहिलो खेलमा ललितपुर निरन्तरता दिने प्रयासमा छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू