अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

फिवनाको देउसी भैलो कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८० मंसिर ३ गते १७:०७ मा प्रकाशित

न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले बार्षिकरूपमा आयोजना गर्दै आएको देउसी भैलो कार्यक्रम यस पटक भने केही पृथकताको साथ सम्पन्न भएको छ । संस्थाको आर्थिक मजबुदीकरणका लागि यसपाली भने र्याफलको पनि आयोजना गरेको आयोजक संस्थाको भनाई छ । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार सँगिनी मगरलाई पनि फिवनाले उहांले गरेको उच्च योगदानको कदर गर्दै सम्मान गरेको हो ।

मातृभूमिको सम्मान र सम्झना स्वरूप हरेक वर्ष नेपालीहरूको महान् पर्व तिहारको उपलक्षमा आयोजित यस कार्यक्रम जम्मा तिन चरणमा विभाजित थियो । औपचारिक कार्यक्रमको अन्त्य पछि, देउसी भैलो कार्यक्रममा वरिष्ठ कलाकारहरूको प्रस्तुति र नाचगान थियो भने अन्त्यमा र्याफलको कार्यक्रम र विजेताहरूलाई पुरस्कार वितरण गरेर कार्यक्रम समाप्त भएको थियो ।

प्रथम चरणको औपचारिक कार्यक्रममा अतिथिहरू छाया कम्युनिटी डेभलप्मेन्टका कार्यकारी निर्देशक अनिता सिचरन, क्विनस बरो प्रेसिडेन्टका अफिसबाट इमिग्रेसन वेलकम सेन्टरका सुबारू दत्त, सामाजिक अभियन्ता इन्द्र तामाङ, आदिवासी जनजाति महासँघ अमेरिका (फिपनाो) की महासचिव टोमा लामा, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता राई लगायतले कार्यक्रमको लागि शुभकामना व्यक्त गर्दै फिवनासंगको सहकार्यको लागि संदैब तयार रहेको मन्तव्य व्यक्त गरे ।

सोही अवसरमा फिवनाका वर्तमान अध्यक्ष इन्दिरा चोङबाङले संस्थापक अध्यक्ष तथा सल्लाहकार सँगिनी मगरलाई उहाँले संस्थालाई गरेको कार्यप्रति उच्च सम्मान गर्दै सम्मान गरेकी थिइन् । मगरले शुभकामना मन्तव्य दिँदै यस अवसरका लागि सम्पूर्णमा आभार व्यक्त गरिन् र आफू सदैब फिवनासँगै रहेको पनि बताइन् ।

कार्यक्रमको सँचालक पूर्व सभासद् तथा जिरेल समाज अमेरिकाकी अध्यक्ष र फिवनाकि सकृय सदस्य शान्ति जिरेलले गरेकी थिइन् । कार्यक्रम सँचालनकै क्रममा उनले फिवना यस कार्यक्रमको प्रभाव र प्रवासमा हामीलाई मातृभूमिको महत्त्व कस्तो हुन्छ भन्नेमा पनि प्रकाश पारिन् । कार्यक्रममा सम्पूर्ण आगन्तुकलाई सॅस्थाकि उपाध्यक्ष मैनासेन बज्राचार्यले स्वागत गरेकी थिइन् ।

देउसीभैलोको अवसरमा आयोजित उक्त अवसरमा फिवनाको सामूहिक देउसी भैलोको प्रस्तुति पनि रहेको थियो । महिलाहरूको भैलिनी गीत प्राथमिकता रहेको उक्त प्रस्तुतिमा सँचालक जिरेलको अगुवाइ रहेको थियो ।

सभापतिको आसनबाट बोल्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औचित्य माथि प्रकाश पारिन । यो सफलता सम्पूर्ण फिवना टिमको प्रयासका कारण सम्भव भएको बताउँदै सम्पूर्ण बिभन्न सँघ सँस्थाका प्रतिनिधिहरू प्रति धन्यवाद र आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको अन्त्य भएको थियो ।

दोस्रो चरणको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, सर्टिफिकेट बितरणकासाथ सम्पन्न भयो । विभिन्न सामाजिक सङ्घसंस्थामा सकृय रहेकी कलाकार तथा कलाकार सँघकि वरिष्ठ उपाध्यक्ष, मिस इमिग्रेसन बसन्ती राईले आफ्नो कला प्रदर्शन गरेर उपस्थितहरूलाई मनोरञ्जन प्रदान गरिन् । सामूहिक नाच र देउसीभैलो कार्यक्रमपछि उनिहरूको कार्यको उच्च सम्मान स्वरूप अध्यक्ष चोङबाङले कलाकार बसन्ती राई, गायिका संगिता मुखियालाई प्रसंसा पत्र प्रदान गरिन् । सोही अवसरमा संस्थाकी सकृय सदस्य मैया तामाङलाई पनि उनको कार्यलाई उच्च सम्मान गर्दै लाइभ मेम्बर प्रदान अध्यक्षबाट भयो ।

तेस्रो चरणका आकर्षक कार्यक्रम र्याफलको कार्यक्रमका संयोजनकारी भूमिका उपाध्यक्ष मैनासेन बज्राचार्यबाट भएको थियो । सोही अवसरमा प्रथम पुरस्कारका विजेता लक्ष्मण तामाङले आई फोन १५ हात पार्न सफल भएका थिए भने दोस्रो पुरस्कारका विजेता हेल्लो कार्यक्रमका सम्राट् कार्कीले सुनको सिक्री हात पार्न सफल भएका थिए । त्यस्तै तेस्रो पुरस्कार दुई सय डलरका गिफ्ट कार्ड हात पार्न सफल भइन् अनु गुरुङ ।

अन्तिम चरणको यस कार्यक्रमको मुख्य आकर्षण दोस्रो पुरस्कारका विजेता सम्राट् कार्कीले फिवनालाई देखाएको सद्भावनाको थियो । विजेताले फिवनालाई नै यसको प्रगतिको कामना गर्दै उक्त सुनको सिक्री डोनेसन दिएपछिको वातावरण केही क्षण हर्ष र उल्लासताका साथ उहांलाई धन्यवाद ज्ञापनमा बित्यो । अन्त्यमा फेरि हर्ष उल्लासका साथ नाचगान गर्दै नेपाली खानपिनको स्वाद लिँदै मातृभूमिप्रतिको सम्मान स्वरूपको देउसी भैलो पर्वको समाप्त भयो ।

प्रतिक्रिया