अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

नेपाल मेरो मुटुमा हाँस्छ

शालिकराम घले २०८० कार्तिक ३० गते १६:०१ मा प्रकाशित

कविता
म देख्छु सपना नयाँ नेपालको
तिम्रो र मेरो सुख र आनन्दको
सीताको पावनता अनि बुद्ध दीपको
सधैँ झुल्कने एक नयाँ बिहानीको!!

म देख्छु सपना जीवन्त जिन्दगीको
जहाँ फुल्छ फूल माया र स्नेहको
सबै जिउने यहाँ मुहान होस पवित्र
देख्छु जिन्दगीको म हरेक रूप!!

नदी र नाला कलकल ध्वनिको
पहाड र कन्दरा सुवास मिठो
चिर चिर चिर चिर आनन्द नादको
सुनी रहु झैँ त्यो हरियो उप-बनको!!

तन्नेरी मन जुरुक्क हुन्छ
वृक्षको लहर झैँ उन्मुक्त नाच्छ
लता र झाडी पक्षीको गीत
नेपाल मेरो मुटुमा हाँस्छ!!