अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

विदेशी मुद्राकाे सञ्चिति १४ खर्ब ७० अर्ब, १० महिनामा १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

बिआरटीनेपाल २०८० जेठ २६ गते ६:२५ मा प्रकाशित

चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा शाेधनान्तर स्थिति दुई खर्ब १४ अर्ब रुपैयाँभन्दा धेरैले बचतमा रहेकाे छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार १० महिना अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो ।

राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा रेमिट्यान्स आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड रुपैयाँ पुगेको छ । याे तथ्याङ्क हेर्दा महिनामा झन्डै एक खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकाे छ । त्यस्तै आयात १६ दशमलव आठ प्रतिशतले, निर्यात २४ दशमलव पाँच प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले घटेको छ । वैशाख मसान्तसम्ममा सङ्घीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव तीन प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव तीन प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू