अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट यूएई बाहिरियो

बिआरटीनेपाल २०८० जेठ १७ गते ७:३२ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (यूएई) विश्वव्यापी तेल व्यापारका लागि महत्त्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ ।यूएईले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सबै साझेदारहरूसँग प्रभावकारी सुरक्षा सहयोगको हाम्रो जारी मूल्याङ्कनको परिणामस्वरूप यूएईले संयुक्त समुद्री बलमा आफ्नो सहभागिता फिर्ता लिएको थियो’, यूएईको राज्य सञ्चालित समाचार संस्था डब्ल्यूएएमद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो । यो महत्त्वपूर्ण तर समस्याग्रस्त खाडीको पानीमा सक्रिय छ जहाँ भर्खरैका महिनाहरूमा ट्याङ्करहरू जफत गरिएको छ र आक्रमण गरिएको छ ।सीएमएफका एक प्रवक्ताले यूएईको सहभागिता रोके पनि साझेदार राष्ट्रका रूपमा रहेको बताउनुभएको छ । ‘सीएमएफमा अझै पनि ३८ साझेदार राष्ट्र छन्, जसमध्ये यूएई एक हो’, कमान्डर टिमोथी हकिन्सले एएफपीसँग भन्नुभयो ।

इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट्याङ्कर र एउटा खाली जहाज नियन्त्रणमा लिएकाे थियाे । इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो ।यसै महिनाको सुरुमा अमेरिकाले इरानको बढ्दो उत्पीडनका कारण विश्वको कम्तीमा एक तिहाइ समुद्री तेल बोक्ने खाडीमा थप बल पठाउन लागेको बताएको थियो ।

अमेरिकी नौसेनाको पाँचौँ टुकडीका सहकमान्डर एडमिरल ब्राड कूपरपछि बेलायती र फ्रान्सेली नौसैनिक कमान्डरका साथ गाइडेड मिसाइल विध्वंशकमा ‘स्ट्रेट अफ होर्मुज’ हुँदै गएका थिए ।जवाफमा इरानले छिमेकी देशसँगको सहकार्यमा खाडीको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएको छ । ‘यूएई आफ्नो समुद्रमा जहाज आवागमन नियन्त्रण र निगरानी सुनिश्चित गर्न जिम्मेवारीपूर्वक प्रतिबद्ध छ’, यूएईको विज्ञप्तिमा भनिएको छ । प्रमुख तेल निर्यातकर्तामध्ये एक यूएई ‘शान्तिपूर्ण वार्ता र कुटनीतिक संलग्नताको लागि प्रतिबद्ध’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू