अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

चलचित्र ‘बिहे पास’ को पोस्टर सार्वजनिक

बिआरटीनेपाल २०७९ फागुन ६ गते ६:०६ मा प्रकाशित

चलचित्र ‘बिहे पास’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।नयाँ वर्ष अर्थात २०८० वैशाख १ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको महाशिव रात्रिको अवसर पारेर निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गरेको हो ।प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिका रहेका छन् । निर्माण टिमले चलचित्रको दुई वटा पोस्टरहरू सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर मध्ये एउटामा दया र प्रकृति प्रदेश लोक सेवा आयोगको अगाडि साइकलमा देखिएका छन् । अर्को पोस्टरमा भने प्रकृति निजामती कर्मचारीको ड्रेसमा र दया हातमा टिफिन बोकेको अवस्थामा चित्रित भएका छन् ।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दया र प्रकृतिको अलावा रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्गदेल, श्याम राई, बिहाल पहारी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, प्रकाश भुजेल र नविन शेरचन लगायतले अभिनय गरेका छन् ।रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । उनीहरु यस चलचित्रको वितरक समेत हुन् । रोजन श्रेष्ठ निर्माता र सह–निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन रहेका छन् ।

प्रकृतिले चलचित्र ‘उत्सव’ मा काम गरेको ७ वर्षपछि यो चलचित्रमा काम गरेकी हुन् भने दयाले आगामी वैशाख १ गते आफ्नै चलचित्रसँग भिडन्त गर्ने भएका छन् । किनकी उक्त मितिमा दयाको अर्को चलचित्र ‘जारी’ पनि प्रदर्शन हुने भएको छ । चलचित्रको टिजर यहि फागुन १० गते सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया