अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरूङको निधन

बिआरटीनेपाल २०७९ माघ ११ गते ५:१८ मा प्रकाशित

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ ।मस्तिष्क घात भएर गत पुस ८ गतेदेखि भइरहवा मेडिकल कलेजमा उपचारका क्रममा ६२ वर्षीय गुरुङको मंगलबार साँझ निधन भएको हो । भारतले पटक–पटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्ता भूमिलाई जोगाउन गुरुङको अगुवाईमा अभियान समिति गठन गरेर आन्दोलन हुँदै आएको थियो ।नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङले २०५५ सालदेखि भारतले गर्दै आएको पटक–पटकको अतिक्रमण कार्य रोकिनुपर्ने, अतिक्रमित भूमि फिर्ता हुनुपर्ने र स्थायी सीमा स्तम्भ स्थापनाको माग राख्दै सरकारलाई दवाव दिदैं आउनुभएको थियो । आर्थिक अवस्था कमजोर हुनुभएका गुरूङको उपचारका लागि बुटवल र नवलपरासीमा अभियान समेत सञ्चालन गरिएको थियो ।

उपचारमा हालसम्म करिब ७ लाख बढी खर्च भएको उहाँको परिवारले बताएको छ । सरसपाट गरेर लिइएको रकम अस्पताललाई तिरेर शव घर ल्याइएको परिवारले बताएका छन् । गुरुङकका श्रीमती, २ जना छोरी र एक जना छोरा रहेका छन् ।सुस्ताको कुल ४० हजार ९ सय ८० हेक्टर जमिन हो । १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयो । १९ हजार ४ सय ८० हेक्टरलाई भारतले विवादित भनेर दावी गरेपछि अहिले सोही क्षेत्र कसैले पनि भोगचलन नगरेको जयसवालले बताउनुभएको हो ।

सुस्ता गाउँपालिका–५ मा पर्ने नारायणी नदी पारिको सुस्ता गाउँमा हाल ३ सय २५ घरधुरीमा ३२ सय जनसंख्याको बसोबास रहेको छ । नारायणी नदीबाट डुंगा चढेर जानुपर्ने सुस्तालाई ३ तिरबाट भारतीय भूमिले घेरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू