अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

पोखरा विमान दुर्घटना- ४६ जनाको शव काठमाडौं पठाइने, बाँकी पोखरामै आफन्तलाई बुझाइने

बिआरटीनेपाल २०७९ माघ २ गते ५:४५ मा प्रकाशित

यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका क्रु मेम्बर, विदेशी र पहिचान नभएका शव भोलि (मंगलबार) मात्रै काठमाडौं पठाइने भएको छ । यसअघि हेलिकप्टरमा सोमबार नै शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी भए पनि अबेर भएकाले मंगलबार मात्र पठाइने भएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं पठाइने भएको छ । त्यस्तै २३ जनाको शव भने पोखरामै अभिभावकलाई बुझाउने तयारी छ । पोखरामा मृतकका आफन्तलाई शव बुझाउन सुरु गरिएको पनि केन्द्रले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले सोमबार साँझ परिसकेकोले मंगलबार बिहान ९ बजेपछि शव काठमाडौं पठाइने जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तीनजना अझैँ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ । ‘पानीबाहिर देखिएका शव निकालिएको र अन्य शव पानीभित्र रहेको आशंकामा एपीएफको गोताखोर टोलीले खोजिरहेको छ,’ उहाँले भन्नुभयो, ‘खोंचमा समेत उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । उद्धारमा नेपाल प्रहरीका दुई कुकुरसमेत परिचालन गरिएको छ ।’

अस्पतालको पोस्टमार्टम गृहमा भएका ६९ मध्ये ४४ शवको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको अस्पतालका निर्देशक डा।भरतबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार ७ सदस्यीय पोस्टमार्टम टिम बनाइएको छ । दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका डा.गोपाल चौधरी र डा.समारिका दाहाल पोखरा आउनुभएको हो ।

पाँचजना पोखराकै फरेन्सिक विशेषज्ञ छन् । ‘पहिला शवको औपचारिक सनाखत हुन्छ त्यसपछि पोस्टमार्टम गर्छौं,’ उहाँले भन्नुभयो, ‘पोस्टमार्टमपछि पुनः सनाखत गर्नुपर्ने हुन्छ । त्यसपछि शव परिवारलाई बुझाउँछौं ।’ सनाखत हुन नसकेका शव डीएनए परीक्षणका लागि काठमाडौं पठाइने डा. खत्रीले बताउनुभयो । यसैबीच, मृतकका आफन्तले भने दुर्घटना भएको २४ घण्टाभन्दा बढी भइसक्दा समेत शव बुझ्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू