अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

बिआरटीनेपाल २०७९ माघ २ गते ५:१२ मा प्रकाशित

आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बिमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ ।क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि सर्भेयर टोली सिंगापुर र कानुनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिमा दलाल ९ब्रोकर० का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको हो ।

दुर्घटनामा परेका यात्रुको बिमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिनुभयो । “बिमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बिमा गरेको हुन्छ । पुनर्बिमाबाट पैसा आएपछि बिमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बिमा रकम भुक्तानी हुन्छ,” उहाँले भन्नुभयो ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बिमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । बिमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि चासो राखेको उहाँको भनाइ छ ।

“राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बिमा भुक्तानीबारे चासो राखेको थियो । बिमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौंबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ,” प्रवक्ता पौडेलले भन्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बिमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ । आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू