अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

अध्यादेश प्रमाणीकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना

बिआरटीनेपाल २०७९ मंसिर २८ गते ४:१५ मा प्रकाशित

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् । सरकारले गत आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् ।

थारु कल्याणकारिणी सभा र थारुहट-थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो । उनीहरुले अध्यादेश अविलम्व प्रमाणिकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरी लगायतका आरोपित व्यक्तिहरु निर्दोष रहेका बताउनु भयो । उहाँले टीकापुर घटनाको सम्बन्धमा नेपाली काँग्रेसको आधिकारिक धारणा माग गर्नुभयो । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेको भन्दै उहाँले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गर्नुभयो ।

उहाँले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वेध चरित्र देखाएको आरोप लगाउनु भयो । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफुले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनि एमालले द्वेध चरित्र प्रदर्शन गरेको बताउनु भयो । उहाँले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणिकरण हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू