अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

विश्व भरिका समाजवादीहरूको साझा संस्था सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा जिसी निर्वाचित

बिआरटीनेपाल २०७९ मंसिर १४ गते १५:१५ मा प्रकाशित

स्पेनको म्याड्रिडमामा नोभेम्बर २५-२७,२०२२ बाट सुरु भएको तीन दिने विश्व भरिका समाजवादीहरूको साझा संस्था सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन् । उक्त महाधिवेशनले उपाध्यक्षमा अमेरिका निवासी नेपाली मूलका कानुन व्यवसायी खगेन्द्र जिसी समेत चयन भएका छन् । जिसीले नेपाली काँग्रेसकोतर्फबाट नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व अध्यक्षको रूपमा प्रतिनिधित्व गर्दै उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

यस अगाडी नेपाली काँग्रेसका सभापतिद्वय, महामानव बि पी कोइराला र शेर बहादुर देउवाले विश्व भरिका समाजवादीहरूको साझा संस्था सोसलिस्ट इन्टरनेशनलको नेपाली काँग्रेसीको प्रतिनिधित्व गरी उपाध्यक्ष जितेर प्रतिनिधित्व गर्नु भएको थियो । उक्त गौरवशाली सगठनमा नेपाल र नेपाली काँग्रेसको तर्फ बाट जन सम्पर्क समिति अमेरिका का पूर्व अध्यक्ष खगेन्द्र जी सी ले जन सम्पर्क समिति पूर्व अध्यक्षका हैसियतले र वेद प्रसाद खरेल नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य , नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व सह संयोजकका हैसियतले भाग लिनु भएको छ ।

नेपाली काँग्रेस सोसलिस्ट इन्टरनेशनलको सदस्य रहदै आएको छ । महाधिवेशनको क्रममा जिसी र खरेल सँग भएको भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा समेत उल्लेख गरेको महाधिवेशनमा सहभागी वेदप्रसाद खरेलले जानकारी दिए ।

भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्नको सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर उम्मेदवारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिकक्षेत्रबाट ८ जनाको उम्मेदवारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्षहरू रहेका थिए ।हाल विधान संशोधन गरेर ३६ जना बनाइएको थियो ।

प्रत्येक क्षेत्रलाई समानुपातिक रूपमा उपाध्यक्षका सङ्ख्यामा बाँडफाँड गर्न सबैभन्दा ठुलो औसत लार्जेस्ट एभरेज विधि प्रयोग गरिएको थियो । यो प्रणाली धेरै देशहरूमा संसदीय सिटहरू बाँडफाँड गर्न प्रयोग गरिन्छ।
५० वर्षीय पेड्रो सान्चेजले ग्रिसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका छन्। महाअधिवेशनमा विश्व भरिका ११७ देशका ३५० जनाको सहभागिता छ ।
सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित भएका हुन् । घानाकी बेनेडिक्टा लासी सोसलिष्ट इन्टरनेशनलको पहिलो महिला र अश्वेत महासचिव बनेकी छिन् ।

पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गरेका थिए । र पछि सन् २०१७ मा उनी संयुक्त राष्ट्र महासचिव बनेका थिए ।

महाधिवेशनमा खगेन्द्र जी सी र वेद प्रसाद खरेलले नेपाली काँग्रेस, लैङ्गिक समानता, आर्थिक अभिवृद्धिमा समाजवादीको भूमिकाका बारेमा कुरा राखेका थिए । नेपालय न्युजबाट

प्रतिक्रिया