अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 06:04

कवि हरिभक्त कटुवाल: विरह व्यथाका अभिव्यक्ति

गोपी मैनाली २०७९ मंसिर २ गते २१:२५ मा प्रकाशित

२०३० को दशक नेपाली साहित्य, विशेषतः कविताको लागि निकै उल्लेख्य रह्यो । त्यति वेला यस कारणले पनि कविताले उर्वरभूमि पाएको थियो कि हरिभक्त कटुवालजस्ता मन छुने कविता लेख्ने कविहरू जागरूक भएर कलम चलाइरहेका थिए, भवानी घिमिरे मोहन कोइराला, हरिभक्त कटुवाल लगायतका कविहरूलाई एकबद्ध गरी सडक कविता क्रान्तिको अभियान नै चलाएका थिए । यो अभियानमा स्थापित कविहरू समाज सुधारको बिगुल फुकिरहेका थिए, स्वतन्त्रता र समानताको आग्रह गरिरहेका थिए, नव उदीयमान कविहरू अभियानबाट परिष्कृत बन्दै थिए । यस अभियानले धेरै कविहरू पनि जन्मायो, कवितालाई नै नयाँ उचाइ दियो, जनजीवनमा कवितालाई पुनर्जागृत गर्‍यो । त्यस अभियानका सबैभन्दा प्रिय र जाजल्व कवि थिए–हरिभक्त कटुवाल ।

हरिभक्त कटुवालका झन्डै दर्जन जति कृति प्रकाशित छन् । सम्झना (गीत सङ्ग्रह), भित्री मान्छे बोल्न खोज्छ (कविता सङ्ग्रह), सुधा (खण्डकाव्य), यो जिन्दगी खै के जिन्दगी (कविता सङ्ग्रह), स्पष्टीकरण (कथा सङ्ग्रह), बदनाम मेरा यी आँखाहरू (गीत र कविता सङ्ग्रह), पूर्व किरण (कविता सङ्ग्रह), म मरेको छैन (नाटक), ऐतिहासिक कथा सङ्ग्रह (संयुक्त कथा सङ्ग्रह) र केही चित्रकलाहरू उनका सिर्जना हुन् । उनका केही कविता मञ्चन भएर नाटकका रूप पनि लिएका छन् । तर ‘यो जिन्दगी खै के जिन्दगी’ र ‘बदनाम मेरा यी आँखाहरू’ नै कवि कटुवाललाई विस्तृत चिनारी चर्चाका साथ शिखरमा पुर्‍याउने सिर्जना हुन् ।

कवि कटुवाल जुन कविता वा गीत लेख्छन्, त्यसलाई चाहिने शब्द यसरी छान्छन् कि ती शब्दले उनका भावना र कल्पनालाई पुरै व्यक्त गर्न सक्छ, मन र मस्तिष्कलाई एकाग्र स्वरूपमा ल्याउने गर्दछ । शब्द विन्यास, शब्द चयन र शब्द माधुर्यका कारण उनका कविता÷गीतहरू सबैका मन–मुटुमा सजिलै आसन जमाउन पुग्छन् । उनी अक्षरमा पुरै अभिव्यक्त हुन सक्छन् । श्रुति, शब्द, भाव र स्वरूप एकै ठाउँमा आएपछि सङ्ग्राहक मन त्यसलाई आफ्नै समानुभूतिमा पाउँछ । नेपाली गीतमा उनका जस्ता शब्द (वर्डिङ) अरू गीतकारले अहिले सम्म पनि भेटैकै छैनन् ।

कवि कटुवालका कवितामा जीवन हुन्छ । उनका कविताको विषय जीवन हो, उनका कविताको मूल्य जीवन हो र त्यसको अनुभूति पनि जीवन । कविताको पृष्ठभूमि सङ्कीर्ण परिपथ होइन, सिङ्गै जीवन र यसका यथार्थहरू हुन् । त्यसैले ती शाश्वत छन्, शाव्दिक भावदृश्य बोकिरहेका छन्, ती हृदयस्पर्शी छन् । स्वायत्त मनका उदात्त भावना पनि हुन् ती जो आफैमा अभिव्यञ्जनामूल्यले ओतप्रोत छन् । त्यसैले उनका कविताभित्र जीवन सद्व्गतिको मीठो संरचनाको खोजी छ, स्वच्छन्द अनुभूतिको बयेली छ, र ती सङ्ग्राहक मनका आफ्नै अन्तर ढुकढुकी बनिदिन्छन् । यस कारण कि उनी कवितालाई जीवनबाट कत्ति पनि पर पुग्न दिँदैनन् । जीवनकै व्यथा र उच्छ्वासको अनुभूतिमा प्रवाहील छन् । कविताको मूल्यवत्ता खोज्न ‘जीवन एक दृष्टि’ मा दृष्टि लगाऔँ–

‘घरी घरी हावा भरिरहनु पर्ने
पङ्कचर भएको–
वाइसाइकलको ट्युब जस्तो यो जीवन
कति टिठलाग्दो छ !
टाल्यो–उप्किन्छ
उप्किन्छ–टाल्यो
टाल्दा टाल्दै टाल्ने ठाउनै हराइसक्छ
र पनि नटाली धरै छैन
नगुडी चक्कालाई सुखै छैन । (जीवन: एक दृटि) ।

मानवका लागि मानव सत्ता बाहेक कुनै मूल्य, आदर्श र अर्थ हुँदैन भन्ने अभिव्यक्ति कवि कटुवालका कवितामा छ । उनी स्वच्छन्दतावादी भएकोले निजत्वको स्वादलाई जीवन ठान्दछन् । कवितामा त्यै निजत्वको स्वच्छन्द बयेली छ । त्यसो भन्दैमा आफ्ना कुरामा मात्र सीमित छन् भन्न खोजिएको होइन । उनी अशक्तका आशा–प्रत्याशालाई कवितामा उठाउँछन्, जीवनका भत्कोषहरु टाल्न आह्वान गर्छन्, हाम्रै धरातलका पात्रहरूका पीडा पोख्छन् । त्यसैले उनी हाम्रा जीवनका अनौपचारिक विधायक हुन् ।

उनका कविताको पहिलो दृष्टि मानव सत्ताप्रति सचेत निर्देश हो, अस्तित्वको खोजी हो । बाँच्नुका स्वाधीन मूल्यलाई केन्द्रीयभावभूमि बनाउने कटुवाल अश्रुत आँखाको मसीले आत्म कहानी लेख्छन्, ‘यो जिन्दगी खै के जिन्दगी’ भनेर । त कतै आत्विस्मातको कथा कथ्न पुग्छन्, रगतको मसीले ।
‘पसलको सोकेसभित्र सजाइ राखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दा चढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी
बाटामा हिड्दा हिड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी’ !! (यो जिन्दगी खै के जिन्दगी) ।
……. ……….. ……………

‘बन्धन र बाधामा बाँच्नु पनि के बाँच्नु
आँसु लुकाएर हाँस्नु पनि के हाँस्नु ?’ (कसरी भनुम बाँचे ?) ।

‘यो जिन्दगी खै के जिन्दगी’ तीसको दशकको सर्वाधिक प्रिय कविता थियो । काठमाडौँका चोक चोक र डबलीहरूमा पनि कविता गुन्जिथ्यो, साथी सङ्गतिको भीडमा, वनभोज र स्कुल–क्याम्पसका कार्यक्रमहरूमा पनि कविताका श्लोकहरु भेटिन्थे । सडक कविता क्रान्तिले कवितालाई सडक सडकमा पुर्‍यायो। कवितालाई सडकमा पुर्‍याउन र सडकलाई कवितामा पुर्‍याउन यो कविताले जति ‘मुनामदन’ ले गर्‍यो होला, ‘घुम्ने मेच माथिको अन्धो मान्छे’ ले गर्‍यो होला, ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ ले गर्‍यो होला, अरूले गर्न सकेका थिएनन् ।

कटुवालका कवितामा आशा र निराशा, कर्म र विरक्ति, उत्साह र उन्माद सरोवरी पाइन्छ । कतै कर्मवादी कटुवाल कर्मका परिणतिमा आफू ‘स्व’ लाई झिनो आस्थामा लिन पुग्छन्, भन्न पुग्छन् ‘फुल्नु त बेसै हो फुल्नुपर्छ, काँडामा गुलाब झैँ फुल्नुपर्छ, हिलोमा कमल झैँ फुल्नुपर्छ, कसैले भरेको हावामा बेलुन झैँ नफुलेर, भीरमा पनि गुराँस भएर फुल्नुपर्छ’ ( साथी) । त कतै निराशावादी कटुवाल परिणतिहीन जीवन देखाउँदै दिक्दार देखिन्छन् । बाँच्नुको अर्थलाई नै भुलेर अश्रुत आँखाबाट पोखिन्छन् ।

‘कतै जुवाडेले कौडी खेलाउँदै हेरेको छुक जस्तो
कतै वसन्तले भर्खरै छाडेर गएको एउटा रुख जस्तो
यस्तो लागिरहेछ आफूलाई पनि जीवन

अन्तिम पानो पनि च्यातेपछिको एउटा ठुटे चेकबुक जस्तो’ । (यो जीवन) ।
कटुवालका कवितामा औधी महत्त्व पाउने विषय माया र नारी सौन्दर्य हो । समाजमा हुर्किँदै आएको सस्तो माया, मायाको स्वरुपीय पक्षलाई भने उनले पटक पटक सचेत गराएका छन्:
‘सस्तो माया पाइ पलाप्पिएकी युवती
उर्वशी, मेनाक र रम्भा हुँदा हुँदै
कुन्ती बन्न कत्तिवेर लगाउँदिन ।’ (सस्तो माया) ।

विस्मय वृत्ति कवि कटुवालको गढेर रहेको विषय हो । समकालीन समाजको आशक्त र विषयान्तरिक बन्दै गएको जीवनप्रति कविको गाढा आस्वादन छ । मानवताहीन बन्दै गएको मानिस कतै भ्रममा छ, कतै विन्दासमा छ, निस्फिक्रीमा छ, तर जताततै बेथिति छ, त्यसले जन्माएको निराशा छ । त्यसैले कवि अस्मिहीन मनोगाथामा प्रवाहित छन् । बाँच्नुको लालसा टुटेपछि जीवनमा एष्णा गुमेपछि, आशा गुमाएको जीवन विस्मय–वृत्तिमा रुपान्तरित छ । जगतको सृष्टिमा वाग बयेली देख्न नपाएकोले कवि अश्रुत बन्न पुगेका छन्, अर्थहीन जीवनप्रति निराश बन्न पुगेका छन्, धेरैजसो कविताहरूमा यही निस्तत्त्वता र निराशा पोखिएको छ । उनका उत्कृष्ट कविताहरू ‘यो जिन्दगी खै के जिन्दगी’, ‘जीवन ः एक दृष्टि’, ‘कतै आउला कि कुनै यस्तो दिन’, ‘नसम्झनु भन्छु तिमीलाई’, ‘म कवि’ ‘लुतोले मर्न लागेको कुकुर र निलो आकाश’, ‘रहर’, ‘सुधा’ हरुले नैराश्य, कुण्ठा र पलायन नै समातेका छन् ।

त्यसो भन्दैमा कटुवालका कवितामा क्रान्ति, विद्रोह र सुधारका स्वरहरू नभका होइनन् । ती निराशा पनि सुधारका पृष्ठ धारका रूपमा रहेका छन् । नेपाली काव्यजगतमा जागरणको मानवीय सुदृष्टि महाकवि लक्ष्मीप्रसाद देवकोटाले दिन पुगे, युगकवि सिद्धिचरण श्रेष्ठ, गोपाल प्रसाद रिमाल, भूपी शेरचन, अगम सिंह गिरी र युद्धप्रसाद मिश्रले त्यस प्रवृत्तिलाई फराकिलो र स्वरलाई जाजल्व बनाउँदै लगे । कवि कटुवाल पनि यही प्रवृत्तिमा जागरण र उत्साहका स्वर थप्छन् । असममा प्रकाशित पहिलो नेपाली खण्डकाव्य ‘सुधा’ मा कवि सुधामाथि भएको सामाजिक थिचोमिचो र दमनलाई विद्रोहको स्वर दिन्छन् र जीवनमा हार नमानी जसै गरी पनि बाँच्ने ऊर्जा उमार्छन् ‘म बाच्दछु, म भाँच्दछु’ भन्दै । सडक कविता क्रान्ति समयका कविताहरूमा ती विद्रोह र जागरणको गाढा स्वर ऐलान छ । ‘म ऐलान गरिरहेछु’ विद्रोहको सशक्त स्वर हो ।
‘जारी रहने छ हाम्रो विय अभियान
अन्तिम लक्ष्य नपुगेसम्म जारी रहने छ
समर्पित छ हाम्रो यो वर्तमान
यसले भोलि एउटा उज्ज्वल इतिहास कहने छ
त्यसैले म ऐलान गरिरहेछु –
कि उनीहरू केलि कागजका बाघ मात्र हुन्
नाङ्लो ठटाएर हात्ती तर्साउन पल्केका
मुकुन्डोधारी नपुुङ्सक एउटा जमात मात्र ।’ (म ऐलान गरिरहेछु) ।

महाकवि देवकोटालाई पागलको पगरी गुथाउँदा उनले पागल लेखेर समाजलाई नै व्यङ्ग्य गरेका थिए । कवि कटुवालको जीवन पनि धोका, प्रेम, सङ्घर्षको आरोह अवरोहमा बितेको छ । उनले उच्च शिक्षा लिन सकेनन्, वृत्ति पनि दिगो भएन । जीवन निर्वाह र पारिवारिक दायित्वमा पनि समस्या रह्यो । साहित्य, सिर्जना, नाटक मञ्चनमा त लागि परेहै थियो, त्यो पनि सङ्घर्षको अर्को रूप थियो । आफ्नो असफलता र साथी, समाजबाट भएको व्यवहारलाई प्रतिक्रिया दिँदै मन त फलामकै भए असल हुन्छ भन्न पुग्छन्:
‘वसन्तमा बन फुल्यो, मन उतै भुल्यो
कसैले जाऊ भन्न लाग्यो पर झनै ठुलो
आकाश देख्यो आकाश जस्तै नौनी जस्तै मेरो मनलाई
जसले पायो उसले हुन्छ
त्यसैले पनि मन फलाम कै भए असल हुन्छ ।
……………………………..

मन त फलाम कै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ
न सयपत्री र ववरीले बाटो थुन्छ
मन त फलाम कै भए असल हुन्छ ।’ (मन त फलाम कै भए असल हुन्छ) ।
कवि कटुवालको अर्को पाटो पनि छ, त्यो हो देशभक्ति र राष्ट्र प्रेम । दशेका हिसावामा कटुवाल भारतीय हुन् । तर उद्भव, संस्कृति, पहिचान र भाषा साहित्यमा उनी नेपाली हुन् । भारतीय नागरिक भएकाले ‘भारतीका स्वतन्त्रका लागि आह्वान’ र ‘स्वतन्त्रताको गीत’ लेखेका छन् । सन् १९६२ को भारत–चीन युद्धमा चीनले उत्तरतर्फबाट धावा बोलेपछि कटुवालले देशभक्तिका कविता लेखे ।
‘सुन सुन सुन हे भारतवादी आज शिक्षा स्वदेश प्रेमको ।
लाञ्छित भईकन बाँच्नुभन्दा लाखन गुण मृत्यु छ निको ।
छोड अहिंसाको व्रत योगी, हो भोगी भईकन अव निस्क
देशको लागि हाँसी हाँसी कालसँग गै जिस्क ।’

त्यस्तै १९६५ मा पाकिस्तानसँग भएको युद्धका समयमा पनि ‘हामीलाई निर्धो नसम्झ’ कविता लेखेका थिए । तर वि स २०२४ को साहित्य सम्मेलनमा नेपाल आएका हरिभक्त कटुवाल पछि उनको नेपालप्रतिको प्रेम बढेको देखिन्छ । २०२६ देखि त दश एघार वर्ष नेपाल नै बसे । यस समय नै उनको नेपाली साहित्य सिर्जना र सेवाको महत्त्वपूर्ण समय थियो । त्यतिखेर पञ्चायत व्यवस्था थियो, लोकतन्त्र थिएन, बोल्ने तथा लेख्ने कुरा निर्देशित थियो । राजनैतिक दलहरू प्रतिबन्धित थिए । नागरिक निजत्वका स्वर बोल्ने मुख थुनिएको थियो । २०३५ सालमा पाकिस्तानी पूर्व प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई त्यहाँको सरकारले फाँसी दिएपछि त्यसका विरुद्ध विद्यार्थीले उठाएको आवाज सरकारले दबाउन खोज्यो तर त्यसका विरुद्ध विद्यार्थी उग्र रूप लिई पञ्चायत व्यवस्थाको विरुद्ध सचेत स्वरुहरु उठ्न थालेका थिए । कवि, कलाकार, पत्रकारहरू स्वभावैले स्वतन्त्रता प्रेमी हुने नै भए । कवि भवानी घिमिरे, मोहन कोइराला र हरिभक्त कटुवालहरू सडकलाई स्वतन्त्रताको कविता सुनाउँदै गए । यस समय कवि कटुवालले राष्ट्रभक्तिका कविता लेखे र बोले पनि । सहिदका विषयमा लेखे, स्वतन्त्रताका विषयमा, सङ्घर्षका विषयमा लेखे र जागरणका स्वरलाई सडक, चोक, गल्ली, जमघट र पत्रिकाहरूमा बुलन्द गरे । यसर्थ कवि कटुवालको भूगोल भारत भए पनि भावना नेपालमा देखिन्छ, भावनालाई भूगोलले छेकेको छैन, बरु भूगोल र भावनालाई जोड्ने सूत्र बनेका छन् ।

‘कथा एउटा रहर मात्र थियो मेरालागि । नलेखेको भए पनि हुन्थ्यो, तर केले कुत्कुत्याएर हो बार्‍ह तेर्‍ह वर्षभित्र दुई दर्जन जति कथा लेखिएछ’ । कटुवालका यो अभिव्यक्तिबाट उनी कथाकार पनि हुन् भन्ने स्वतः पुष्टि हुन्छ । हरिभक्त कटुवालका विषयमा शोध अनुसन्धान गर्ने जीवन नमदुङ्गले उल्लेख गर्नुभए अनुसार उनले काशीराम शर्मा र दुुर्गाधर प्रधानसँग संयुक्त लेखकका रूपमा ऐतिहासिक कथा सङ्ग्रह प्रकाशन गरेका छन् । ‘स्पष्टीकरण’ (१९७३) उनको अर्को कथा सङ्ग्रह हो । उनका कथामा असमको सामाजिक यथार्थले स्थान पाएको छ । उनका कथा नारी प्रधान चरित्रमा देखिन्छन् । ‘मनु दिदी’, ‘नरमाया’, ‘सूर्यमुखी’, ‘सन्तुले छकाइ’ यसका दृष्टान्त हुन् । ‘नरमाया’ उनको उत्कृष्ट कथा हो ।
कवि कटुवाल नेपाली गीतका मूर्धन्य शिल्पी हुन् । हुन त उनका ‘गीतमा काव्यिक विम्ब र कवितामा अनुप्रासात्मक लयचेत’ भएकाले सबै गीत कविता हुन्, सबै कविता गीत हुन् भने हुन्छ । कवितामा बौद्धिकता बलियो र गीतमा हार्दिकता गहिरो हुन्छ, यसै आधारबाट कविता र गीत एक अर्काबाट पृथक् हुन्छन् । हार्दिकता बोकेका कविता र बौद्धिकता बोकेका गीत भएपछि गेय सन्धानमा स्थायी अन्तरा बाहेक संरचनामा कुनै भिन्नता पाइँदैन । कटुवालमा गीत लेख्दा भावविम्ब र श्रुतिसमानुुभूतिको यौगिक बनाउने अजीवको कला छ । जसका कारण उनका गीतमा जीवन जवानीका भावुकता, प्रकृति र यथार्थ घ्वाप्पै पोखिएको हुन्छ । जस्तो कि:

‘कति कति आँखाहरू बाटो छेक्न आउँछन्,
परेलीमा बास माग्न कति आँखा आउँछन् ।
यति धेरै मानिसका यति धेरै आँखा
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ ।’

प्रेम, प्रकृति र विरह बिछोडमा लेखिएका उनका सबैजसो गीत श्रोताका मन मुटुमा रहेका छन् । ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘मेरो यो गीतमा जुन मूर्च्छना छ’, ‘मेरो मनलाई राख्ने कुनै ठाउँ छैन’, ‘आँसुले मेरो त्यो पिर तिम्रो’, ‘हाँगा–हाँगा बनभरि चैत फुलेछ’, ‘पोखिएर घामको झुल्का’, ‘त्यो दिन ढलेर के भो’, ‘जून त लाग्यो ताराले’ उनका कालजयी गीतहरू हुन् । गीतका शव्दशिल्प यति मीठा छन् कि गीतका लागि कस्ता शब्द चाहिन्छ भन्ने दृष्टान्त उनकै गीतले दिइरहेका छन् । अर्को अचम्मको कुरा शव्दशिल्पका शीर्ष संयोजनमा स्वर पनि नारायण गोपाल, अरुणा लामा, भारती घिमिरे जस्ता कोकिल कण्ठबाट भरिएको छ । यसर्थ उल्लिखित गीतहरू शब्द, स्वर र सङ्गीतका अपूर्व सङ्गम बनेका छन् । मन र हृदयलाई भन्दा आँखा र शरीरलाई गीत खोज्ने जेनेरेसन जेड र मिलेनियल्स पनि उनका गीतमा रमिन्छन् ।

संक्षेपमा भन्दा सबै कवि जीवन लेख्छन्, पीडा पोख्छन्, छटपटी छचल्क्याउँछन् र मुक्तिको मार्ग खोज्छन् । यसका अपवाद कवि कटुवाल किन हुन सक्थे र ? उनले प्रवासमा जन्मेर नेपाली साहित्यलाई शीर्ष उचाइमा पुर्‍याउन योगदान दिए । उनी कविता, गीत, कथा र नाटकमा प्रेम लेख्छन्, आशक्ति र उत्साह लेख्छन्, घृणा र व्यङ्ग्य लेख्छन्, पीडा पोख्छन्, छटपटी र निराशा नङ्ग्याउँछन् । धेरैजसो त उनी प्रेम र निराशा नै लेख्छन् । अझ यसो भनौँ, उनी विरहका गीत र मानवता अभिव्यक्ति हुन् । उनको जीवन यात्रा, वृत्ति व्यथा, सङ्गत–स्वभाव, जन्म र कर्मको विभाजनले पनि उनका सिर्जनालाई प्रभाव पारेको छ । उनको जीवनयात्रा अल्पायुमै समाप्त भए पनि उनका सिर्जना भने नेपाली वाङ्मयमा अमर छन् । सडकलाई कविता सुनाउँदै, प्रेमिल मनलाई गीत दिँदै हिँड्ने हरिभक्त कटुवाल पाठक स्रोतका मनमभफेरीमा सधैँ आसन जमाइरहेको छ । सडक–सङ्घर्षको ऐलान गरिरहेका छन् ।

–मैनाली निवास
क्षितिज मार्ग शङ्खमूल ।