अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

कोप–२७ मा संयुक्त राष्ट्रसंघ महासचिवको सम्बोधन, ‘हानिनोक्सानी सम्बोधनमा हुने निर्णयले कोप–२७ को सफलता निर्धारित गर्छ’

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ५:१७ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायुजन्य गतिविधिका कारण भएको हानिनोक्सानीलाई सम्बोधन गर्नका लागि प्रभावकारी संस्थागत व्यवस्था गर्नु पर्ने र त्यस सम्बन्धमा हुने ठोस सहमतिले नै कोप २७ को सफलता निर्धारण गर्ने बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २७ औँ संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्थात् कोप २७ को उच्चस्तरीय उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटरेसले हानिनोक्सानीको मुद्दा प्रमुखताका साथ उठाउनुभएको हो ।

‘हानिनोक्सानीको मुद्दा सम्बोधन गर्नका लागि यो सम्मेलन स्पष्ट र समयसीमा सहितको मार्गदर्शनमा सहमत हुनु पर्छ’, महासचिव गुटरेसले भन्नुभयो, ‘सो मार्गदर्शनले चुनौतीको स्तर र तात्कालिकतालाई सम्बोधन गर्नु पर्छ। यसले हानिनोक्सानी सम्बोधनका लागि वित्तिय व्यवस्थाका सम्बन्धमा प्रभावकारी संस्थागत व्यवस्था प्रदान गर्नु पर्छ।’

हानिनोक्सानी सम्बोधनका सन्दर्भमा ठोस परिणाम प्राप्त गर्नुसँग कोप–२७ को सफलता जोडिएको र त्यो सरकारहरुको प्रतिबद्धताको अग्निपरीक्षासमेत रहेको महासचिव गुटरेसले बताउनुभयो । इजिप्टको शर्म एल–शेखमा आइतबारदेखि सुरु भएको कोप–२७ को वार्ताका लागि तय गरिएको औपचारिक मुद्दाहरुको सूचीमा हानिनोक्सानीलाई पनि पहिलो पटक समावेश गरिएको छ। उप–एजेण्डाका रुपमा रहेको हानिनोक्सानी र त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा छलफल हुने उल्लेख छ।

महासचिव गुटरेसले जलवायु परिवर्तनको गम्भीर प्रभाव विश्वसामु प्रत्यक्ष रहेको बताउँदै हानिनोक्सानीको मुद्दा अब कुनै पनि हालतमा लुकाउन नसकिने उल्लेख गर्नुभयो । ‘यो विषय अब नैतिक रुपमा अनिवार्य बनिसक्यो’, उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सौहार्दताका लागि यो आधारभूत प्रश्न हो र जलवायु न्यायको विषय पनि।’ जलवायु संकटका लागि निकै कम भूमिका रहेकाहरुले त्यसको ठूलो मूल्य चुकाउनु परेको र अनुकूलन वा त्यससँग जुध्नका लागि उनीहरुसँग आवश्यक स्रोत पनि नरहेको महासचिव गुटरेस बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू