अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

”ताइवान क्षेत्रमा उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेकाे छ”- परराष्ट्र मन्त्रालय

बिआरटीनेपाल २०७९ साउन २० गते ७:०५ मा प्रकाशित

परराष्ट्र मन्त्रालयले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीकाे ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेकाे बताएकाे छ । आज शुक्रवार सिंहदरबारमा आयाेजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सासले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सधैँ ‘एक चीन नीति’ को समर्थनमा रहेको पनि स्मरण गराउनुभयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो देशको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ ।

उहाँले भन्नुभयो, ‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सधैँ एक चीन नीति समर्थन गर्दै आएको छ । एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सधैँ अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’ परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै देशले सधैँ एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू