अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता २०२२ मा इन्टर स्टेट भलिबल प्रतियोगिता सम्पन्न

बिआरटीनेपाल २०७९ जेठ १६ गते १७:२० मा प्रकाशित

म्याडिसन विस्कन्सिन अमेरिकामा मेमोरियल डे सातामा (में २८ र २९, २०२२) नेपाली इन्टर स्टेट भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिन, एनआरएनए अमेरिकाको विस्कन्सिन च्याप्टर र मिड्वेस्ट क्षेत्रका अन्य च्याप्टरहरूको सहयोगमा आयोजना गरिएको थियो! कार्यक्रमका संयोजक समाजसेवी रवीन्द्र उप्रेती अमेरिकी मैत्री सङ्घ म्याडिसनका सक्रिय सदस्य र नवगठित एनआरएनए युएसका कोषाध्यक्ष हुन् |

कार्यक्रमको प्रमुख अतिथि कृष्ण लामिछानेको नेतृत्वमा नवगठित एनआरएनए युएसका प्रमुख संरक्षक तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष र हाल एनआरएन आइसिसीका कोषाध्यक्ष समाजसेवी सुनिल साहले गर्नुभएको थियो |

साथै कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व बोर्ड मेम्बर र एनआरएनए अभियन्ता विस्कन्सिन निवासी समाजसेवी वासु अधिकारी पनि अतिथि थिए | नेपाली अमेरिकी मैत्री सङ्घबाट वर्तमान अध्यक्ष अबिमन पसछे, पूर्व अध्यक्ष सन्तोष लामिछाने, भलिबल टिमका संस्थापक महेश श्रेष्ठ तथा नेपाली कक्षाका विद्यार्थी र कक्षा तथा नेपाली संस्कृतिको प्रवर्धनमा म्यडिसनमा निरन्तर लागिरहने अर्चना द्वा लगायत सम्पूर्ण खेलाडी र खेल प्रेमी नेपाली समुदायको पनि उपस्थिति थियो ।

लामो समयदेखि नाफा भलिबल टिममा सम्बद्ध नरेश श्रेष्ठ र समग्र म्याडिसन नेपाली समुदायका विभिन्न क्षेत्र लगायत खेलकुदमा निरन्तर सहयोग गरिरहेका महेश लुइँटेललाई सम्मान गरिएको थियो । साथै प्रमुख अतिथि सुनिल साहलाई म्याडिसनको पहिलो भलिबल प्रतियोगिता देखी नै निरन्तर सहयोग पुर्‍याएकोमा सम्मान गरिएको थियो |

कार्यक्रमको सञ्चालन म्यडिसनका खेल प्रेमी युवा सन्तोष पौडेलले गरेका थिए | प्रतियोगितामा मिचिगन, भर्जिनिया. मिन्नेसोटा, विस्कनसिनबाट ७ टिम सहभागी थिए | म्यडिसनमा भएको यो दोस्रो इन्टर स्टेट भलिबल प्रतियोगिता हो | यसअघि २०१८ मा रवीन्द्र उप्रेती र अर्जुन खड्काको संयोजकत्वमा अमेरिकी मैत्री सङ्घको अध्यक्ष सन्तोष लामिछाने रहँदा पनि सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएको थियो |

प्रतियोगितामा मिचिगन र मिन्नेसोटा फाइनलमा पुगेका थिए । फाइनलमा मिन्नेसोटा विजयी भएर प्रथम र मिचिगन दोस्रो भएको थियो | मिचिगनका कक्षा ११ मा अध्ययनरत वर्ष १७ का ओमस्वरुप कार्की लाई प्रतियोगिताको उदीयमान खेलाडीको रूपमा पुरस्कृत गरिएको थियो त्यसै गरी मिन्नेसोटाका गोपाल राइलाई उत्कृष्ट खेलाडीको पुरस्कार महेश श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो। प्रतियोगिताको समापनमा प्रथम र दोस्रो टिमलाई पदक र कप हस्तान्तरण गरिएको थियो | समापन कार्यक्रममा एनआरएनए विस्कन्सिन च्याप्टरका सभापति दीपक थापा प्रमुख अतिथि थिए ।

प्रतिक्रिया