अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

मन्त्रीसहित २ सय ६० जना बोकेर भोलि काठमाण्डौबाट भैरहवा जाँदै वाइडबडी जहाज

बिआरटीनेपाल २०७९ वैशाख १४ गते ६:५५ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले भोलि बिहीवार परीक्षण उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज भोलि दिउँसो ३ बजे काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको हो ।

जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो । जहाज भैरहवा पुगेको दुई घण्टापछि फेरि काठमाण्डौ फर्कनेछ । दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि दाहालले जानकारी दिनुभयो । काठमाण्डौबाट पुगेका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियमअनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने महाप्रबन्धक दाहालको भनाइ छ ।

गौतमबुद्ध विमानस्थलमा गएको वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो । विमानस्थलबाट आउँदो जेठको १५ गतेदेखि नियमित व्यावसायिक उडान हुनेछ । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका पक्का गरेको छ ।

प्रतिक्रिया