अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

निर्माणधीन पुल, सडक पूरा गर्ने गरी बजेट प्रस्ताव गर्न अर्थमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७९ वैशाख १२ गते ७:४६ मा प्रकाशित

आगामी आर्थिक वर्षको बजेट निर्माणलाई तीव्रता दिइरहेको अर्थ मन्त्रालयले सोमबार विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले वनको विनाश नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विदेशबाट ठूलो परिमाणमा काठ आयात भएको भन्दै नेपालकै वनमा रहेको काठको उपयोग गरी विदेशबाट हुने आयात रोक्ने कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री शर्माले केन्द्र, प्रदेश र स्थानीय तहले कस्ता सडक आयोजना निर्माण गर्ने भन्ने विषयमा यकिन गरी बजेट र कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिनुभयो ।

निर्माणधीन पुल, सडकलाई टुङ्गाउने गरी बजेट प्रस्ताव गर्न आग्रह गर्नुभयो । उद्योग मन्त्रालयले नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा प्रस्तुती दिएको थियो । प्रस्तावित कार्यक्रमबाट २५ हजार ४ सयलाई रोजगारी सृजना हुने, नयाँ ठाउँमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने, भएका औद्योगिक क्षेत्रलाई मर्मत सम्भार गर्ने र पेट्रोलियम पाइपलाइन विस्तार गर्नेलगायत छन् ।

सो छलफलमा अर्थमन्त्री शर्माले निर्यात प्रतिस्थापनका लागि उत्पादन वृद्धि र रोजगारी सृजनाका कार्यक्रम थपेर ल्याउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया