अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

विदेश ‘डाइभर्ट’ हुने जहाज अब भैरहवामा अवतरण, जजिराले हप्ताको ३ दिन उडान गर्ने

बिआरटीनेपाल २०७९ वैशाख ८ गते ७:३२ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आज बिहीवारदेखि सञ्चालनमा आएसँगै अब अन्तर्राष्ट्रिय जहाज पनि अवतरण गर्ने भएका छन् । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायु सेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने उज्यालोलाई जानकारी दिनुभयो ।

‘अब काठमाण्डौमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, काठमाण्डौमा समस्या हुँदा ठूला जहाज पनि यही नै अवतरण हुनेछन्’, महाप्रबन्धक दाहालले भन्नुभयो । यो विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले पनि स्वीकृति दिइसकेको उहाँको भनाइ छ ।

यसैबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि कुवेतकाे जजिरा एअरलाइन्सले उडान गर्ने भएको छ । जजिराले हप्ताको तीन दिन उडान गर्ने तालिका तय भएको महाप्रबन्धक दाहालले जानकारी दिनुभयो । जजिराले सोमवार, बुधवार र शुक्रवार उडान गर्ने उहाँको भनाइ छ । अरू एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको दाहालले बताउनुभयो ।

४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ । अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

प्रतिक्रिया