अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन : नेपाल उद्योग परिसंघ

बिआरटीनेपाल २०७९ वैशाख ६ गते ६:३२ मा प्रकाशित

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर परिसंघले यस्तो दाबी गरेको हो । परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले उपलब्ध तथ्याङ्क र विगतको परिदृश्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्थामा नभएको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्दै प्रचार भए पनि तत्काल कोही पनि प्यानिक हुनुपर्ने अवस्था नभएको बताउनुभयो । अध्यक्ष अग्रवालले अर्थतन्त्र संकटको अवस्थामा नभएता पनि चनाखो भएर भने हिड्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताउनुभयो । नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भइरहेको उहाँको भनाइ छ ।

अध्यक्ष अग्रवालले भुक्तानी सन्तुलन नोक्सानमा जाँदा नेपालको अर्थतन्त्रमा केही समस्या भने देखिएको बताउनुभयो । उहाँले नेपालमा मुद्रास्फीति उच्च दरमा नपुगेको, बेरोजगारीको समस्या एकै पटक नदेखिएको, बजारमा माग बढिरहेको, समाजिक समस्या नदेखिएकाले अर्थतन्त्रमा संकट नदेखिएको बताउनुभयो ।

अग्रवालले परिसंघले बारम्बार सरकारसँग अर्थतन्त्रमा थपिएका चुनौती समाधान गर्न आग्रह गर्दै आएको बताउनुभयो । परिसंघले कम्तीमा ३ वर्षको सीमा तोकेर विदेशीलाई डलरमा सेयर किन्न दिनुपर्ने सुझाव दिएको छ । त्यसरी सेयर किन्नेहरुलाई ऋण पत्र खरिद अनिवार्य गर्नुपर्ने धारणा संघले अघि सारेको छ । रेमिटेन्स पठाउनेहरूलाई छुट्टै परिचय पत्र बनाएर सरकारी सेवामा अग्राधिकार पनि परिसंघले सुझाएको छ ।

प्रतिक्रिया