अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइन्छ- मन्त्री झाँकी

बिआरटीनेपाल २०७८ चैत ११ गते ८:२९ मा प्रकाशित

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताउनुभएको छ। मन्त्रालयमा आज (शुक्रवार) आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताउनुभएको हो ।

उहाँले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनुपर्ने बताउनुभयो। सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उहाँले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सर्वसाधारणको प्रवेशलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताउनुभयो ।

सो अवसरमा शहरी विकास सचिव डा रमेशप्रसाद सिंहले सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने बताउनुभयो । सो अवसरमा सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल, नेपाल प्रहरीका एसएसपी राजेशनाथ बास्तोला र नेपाली सेनाका उपरथी निर्मलकुमार थापाले सिंहदरबारभित्र सर्वसाधारण आउन सहज हुने र सुरक्षाको दृष्टिले पनि असर नपुग्ने खालको अवस्था बनाउन गुरुयोजनामा उल्लेख गर्नुपर्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सिंहदरबारभित्र इलेक्ट्रिक चार्जिर्ङ स्टेशन राख्न लागिएको जानकारी दिँदै सिंहदरबारभित्र सडक बत्ती व्यवस्थित गर्नेबारे छलफल गरेर अघि बढ्न सकिने बताउनुभयो । नेपाल टेलिकमकी प्रतिभा वैद्यले ‘सिंहदरबारभित्र अव्यवस्थित रहेको टेलिकमका तारहरू व्यवस्थित बनाइने छ’ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू