अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

नेप्सेद्धारा सुचिकृत कम्पनीहरूको वर्गीकरण, ए समूहमा ३६ कम्पनी पर्न सफल

बिआरटीनेपाल २०७८ चैत ६ गते ७:५७ मा प्रकाशित

नेप्सेले सूचीकृत कम्पनीहरुको पछिल्लो वर्गीकरण सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार ३६ कम्पनी ए समूहमा परेका छन् । धितोपत्र सूचीकरण विनियमावलीअनुसार कम्पनीहरुको वर्गीकरण गरिएको हो । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा कम्पनीहरुलाई वर्गीकरण गर्दछ ।विनियमावलीअनुसार चुक्ता पुँजी कम्तीमा १ अर्ब भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ पाएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणभा भएको लगायतका मापदण्ड पुरा भएका कम्पनी ए समूहमा पर्दछन् ।

त्यस्तै बी समूहमा पर्नका लागि चुक्ता पुँजी कम्तीमा ५० करोड भएको, सूचीकरण भएको ३ वर्ष भएको, विगत तीन आर्थिक वर्षमा कम्तीमा दुई आर्थिक वर्ष नाफा गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । सूचीकृत भएको २ वर्ष नपुगेका कम्पनी जी समूहमा पर्दछन् भने ए, बी र जी समूहमा नअटाएका कम्पनी जेड समूहमा पर्दछन् ।नेप्सेले वर्गीकरण गरेका समूहमा पर्नु नपर्ने कारणहरु कम्पनीहरुले ३५ दिनभित्र दावीसहितको आवेदन दिन सक्नेछन् । ए समूहमा २५ वटा वाणिज्य बैंकहरु परेका छन् । कुल २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य पुर्णतः सरकारी स्वामित्वको कम्पनी हो भने एनआईसी एसिया बैंक जेड समूहमा परेको छ ।

त्यस्तै विकास बैंकहरुबाट ४ कम्पनीहरु कामना, मुक्तिनाथ, सांग्रिला र साइन रेसुङ्गा विकास बैंक ए समूहमा परे । फाइनान्सबाट आईसीएफसी र मञ्जुश्री, माइक्रोफानान्सबाट आरएमडीसी, जलविद्युतबाट अपी, अरुणभ्याली र बुटवल पावर तथा उत्पादनबाट शिवम् सिमेन्ट ए समूहमा सूचीकृत भएका छन् । बी समूहमा ९ कम्पनी परेका छन् भने जी समूहमा ३६ कम्पनी परेका छन् । टेलिकम, माथिल्लो तामाकोसी, नागरिक लगानी कोष लगायत कम्पनी जेड समूहमा परेका छन् ।

 

प्रतिक्रिया