अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ चैत ४ गते ७:२१ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रण गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको र ती समस्या समाधानको लागि सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल भएको बताउनुभयो । उहाँले उद्योग व्यवसायहरुलाई विकास गर्नको लागि उद्योगीहरुले सुझाव दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, अर्थमन्त्री शर्माले हरेक वर्ष निर्यातलाई बढाउँदै लैजाने गरी सरकारले नीति बनाउने बताउनुभयो । उहाँले आयात प्रतिस्थापनको लागि उत्पादन र निर्यातमा केही वृद्धि भएपनि त्यो अपुग रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले अब नयाँ बजेट र नीति निर्माण गर्ने बेला भएको भन्दै उद्योग विकास र वृद्धिका लागि यसमा उद्योगीहरुले राय सल्लाह दिन आग्रह गर्नुभयो । उहाँले हाल ऋण पाउने कुरामा समस्या भएको र कोभिड १९ का कारण भएको ऋणको व्यवस्था भएपछि तरलताको समस्या पनि समाधान हुने बताउनुभयो ।

अर्थमन्त्री शर्माले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सहजरुपमा नेपालमा डलर खाता खोल्न पाउने व्यवस्था गरेर पनि यसलाई समाधान गरिने बताउनुभयो । उहाँले विदेशबाट बैंकहरुले ऋण लिनको लागि पनि आवश्यक निर्णयहरु गरिएको बताउनुभयो ।मन्त्री शर्माले गोलमाल भएको बैंकिङ क्षेत्रलाई सुधार्न र व्यवस्थापन गर्ने कार्यमा मन्त्रालयले काम गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया