अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

नेपाल एअरलाइन्स धमाधम अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै

बिआरटीनेपाल २०७८ चैत ३ गते ७:२४ मा प्रकाशित

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एअरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा फेरि उडान सुरु गरेको हो । नेपाल एअरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बेङ्गलाेरमा फेरि उडान गर्ने घोषणा गरिसकेको छ । निगमले आउँदाे मार्च २१ देखि बेङ्गलाेर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।

बेङ्गलाेरमा हप्ताकाे मङ्गलवार, बिहीवार र शनिवार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधवार, शुक्रवार र आइतवार उडान गरिनेछ ।महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गएकाे फागुन ३० गतेदेखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एअरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।

नेपाल एअरलाइन्सले जापानको नारितामा हप्ताकाे दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगित भएको यो गन्तव्यमा निगमले फैरि उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा हप्ताकाे दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्ने गरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारीअघिकाे सबैजसो गन्तव्यमा फेरि उडान विस्तार गरेर नेपाल एअरलाइन्स उडान सेवामा पूर्ववत् लयमा फर्किएको उल्लेख गर्नुभयो । नेपाल एअरलाइन्सले नारितामा अप्रिल १ देखि हप्ताकाे मङ्गलवार र शुक्रवार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ । अहिले नारितामा हप्ताकाे एक दिन शुक्रवार मात्रै उडान भइरहेको छ । नेपाल एअरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।

नेपाल एअरलाइन्सले थाइल्यान्डकाे राजधानी बैंकक गन्तव्यमा पनि हप्ताकाे दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि हप्तामा एक मात्रै उडान गरिरहेको नेपाल एअरलाइन्सले यही चैत ७ गतेदेखि हप्तामा दुई उडान गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया