अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

आइओसीले नेपालका लागि इन्धनको नयाँ मूल्य पठायो, फेरि मूल्य बढ्ने संकेत

बिआरटीनेपाल २०७८ चैत २ गते ६:१८ मा प्रकाशित

भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको मूल्य बढाएर पठाएको छ। बुधबार नेपाल आयल निगमलाई आइओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

आइओसीले पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा बढाएर पठाएको उहाँले बताउनुभयो । त्यस्तै डिजेलमा २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेर आएको छ।यो बढेर आएको मूल्यले आयल निगमको घाटा झनै बढेर जानेछ। यसअघि निगमलाई पेट्रोल लिटरमा १६ रूपैयाँ हाराहारी घाटा थियो। अब यो घाटा ३२ रूपैयाँ नाघेको छ। डिजेलमा पनि ३६ रूपैयाँ बढी घाटा हुनेछ।

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा एक करोड ५० लाख, हवाई इन्धन आन्तरिकतर्फ एक करोड १३ लाख र बाह्यतर्फ साढे १७ करोड रूपैयाँ नाफा रहेको निगमले जनाएको छ। सबै प्रकारका इन्धनबाट नाफा र घाटाको समायोजन गर्दा बुधबारको मूल्यअनुसार निगमलाई अब १५ दिनमा ५ अर्ब ३१ करोड रूपैयाँ घाटा छ। यो भनेको महिनामा साढे दस अर्ब बढी हो।

युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ। कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू