अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

रासायनिक मल ल्याउन भारतसँग ‘जी टु जी’ सम्झौता, पहिलाे वर्ष १ लाख ५० हजार टन ल्याइने

बिआरटीनेपाल २०७८ फागुन १६ गते ६:१७ मा प्रकाशित

सरकारले भारतसँग रासायनिक मल खरिदको सम्झौता गरेको छ ।  सरकार–सरकार अर्थात् ‘जी टु जी’ प्रक्रियाबाट रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता भएको हो । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले आज साेमवार समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

जी टु जी प्रक्रियामार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको कृषि सामग्री कम्पनी लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक राजेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । यो सम्झौता पाँच वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष एक लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कार्कीले जानकारी दिनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालगायतको उपस्थितिमा भर्चुअल माध्यमबाट दुई पक्षीय समझदारी पत्रको आदानप्रदान भएको हो । दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान हुन सक्ने पनि कृषि सामग्री कम्पनी लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक  कार्कीले बताउनुभयो ।

टेन्डर खरिद प्रक्रियाबाट रासायनिक मल ल्याउँदा ढिलो हुने र चाहिएको समयमा मल नपाउने समस्या भएकाले जी टु जी प्रक्रियाबाट मल ल्याउँदा छिटो हुने भएकाले किसानलाई फाइदा हुन्छ । नेपाल र भारतबीच मल खरिद सम्बन्धी सम्झौता भएसँगै यो वर्षको बर्खाको समयमा मलको अभाव नहुने कार्कीले दाबी गर्नुभयो । नेपालमा बर्सेनि आठ लाख मेट्रिक टन रासायनिक मलको माग रहेकोमा, भारतबाहेक अरू देशबाट पनि मल ल्याउनका लागि टेन्डर भइरहेको र केही मल बाटोमा भएकाले यो वर्ष सम्भवत कुनै पनि खेतीबालीका लागि मलको अभाव नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया