अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

शिक्षालाई विकाससँग जोड्न सके लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ- प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:५९ मा प्रकाशित

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आइतवार भएको १३औँ सभामा उहाँले राज्यले शिक्षा प्रणालीमा गरेको लगानीबाट आर्जित उपलब्धिले देशको भावी गन्तव्य निर्धारणमा ठूलो महत्व हुने उल्लेख गर्नुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन र शिक्षाको माध्यमबाट सरकारले अङ्गीकार गरेका दिगो विकास नीतिलाई सहायक सिद्ध हुने गरी प्राज्ञिक क्रियाकलापहरू अघि बढाउनसमेत प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

पाँचौँ शताब्दीमा चिनियाँ प्रसिद्ध यात्री फाहियान र सातौँ शताब्दीमा हुयन्सानका यात्रा वर्णनका अभिलेखहरूमा तिथि–मितिसहित उल्लेख भएका अशोक स्तम्भहरू र अन्य पुरातात्विक वस्तुहरूका आधारमा शाक्यमुनि बुद्ध, कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्धका पावन स्थलहरूसहितको इतिहास बोकेको क्षेत्रका रूपमा नेपाल विश्वभर स्थापित भइसकेको छ । उहाँले यसलाई निरन्तर प्रवद्र्धन गर्दै जाने कार्यमा विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

विश्वविद्यालयले बौद्ध धर्म र दर्शनसम्बद्ध अध्ययनका विभिन्न विधाहरूको अध्ययन–अध्यापन गराउनाका साथै पाली, संस्कृत, नेपाली र भोट भाषामा सङ्गृहित बौद्ध शिक्षालाई समयसापेक्ष परिष्कृत र जीवनोपयोगी बनाउँदै अघि बढ्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाको जोड थियो । शान्ति, समृद्धि र सुखी जीवनयापनका लागि मिहिनेत, धैर्य, सन्तुष्ति तथा आध्यात्मिकता जस्ता नेपाली समाजको मौलिक मान्यतालाई समेट्ने शैक्षिक योगदानबाट नेपाललाई बुद्धको जन्मभूमि र ज्ञानभूमिका रूपमा विश्वलाई चिनाउने यो एउटा महत्वपूर्ण अवसर पनि भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले विश्वविद्यालय स्थापनाका मर्म र उद्देश्यको मनन गर्दै हालसम्म भए गरेका भौतिक संरचना विकास, शैक्षिक कार्यक्रमको विस्तार, अनुसन्धान र प्रकाशनलगायत प्राज्ञिक क्रियाकलापहरुको मूल्याङ्कन गर्दै आगामी दिनमा अघि बढ्ने योजना तयार गर्न बैठकले मार्गदर्शन गर्ने अपेक्षा गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू