अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

अमेरिकामा विवाहका लागि जोडी खोज्न सहयोग गर्दै नेपाली मन्दिर

विकासराज न्यौपाने २०७८ माघ १० गते १६:५० मा प्रकाशित

ड्यालस (अमेरिका) । के तपाई नेपालमा हुनुहुन्छ तर अमेरिकामा रहेका नेपाली समुदायसँग विवाह गर्ने सोचमा हुनुहुन्छ ? तपाई अमेरिकामा हुनुहुन्छ । नेपालमा गएर बिहे गर्ने योजना बुन्दै हुनुहुन्छ ?

यदि यसो हो भने तपाइका लागि योग्य जोडी खोज्नका लागि अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा रहेको नेपाली मन्दिरले सहयोग गर्न सक्नेछ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, जसलाई नेपाली मन्दिर अथवा पशुपतिनाथ तथा बुद्ध मन्दिरका नामले चिनिन्छ यही संस्थाले नेपाली संस्कृतिमै विवाह गर्न चाहनेका लागि सहयोग गर्ने विशेष कार्यक्रम सुरु गरेको छ । ‘बरबधु मिलन कार्यक्रम’ नाम दिइएको यो कार्यक्रम सुरु भएको एक हप्ता भयो । यसबिचमा संस्थामा विवाह गर्नका लागि दर्जनौँ नामहरू प्राप्त भैसकेको कार्यक्रम संयोजक डा. मुरली अधिकारीले जानकारी दिए ।

योग्य जीवनसाथीको खोजीमा पसेका । तर पाउन नसकेका दर्जनौँ व्यक्तिहरू आप्mनै अमेरिकामै भेटिन्छन् । स्पष्टसँग कुरा राख्न पनि नसक्ने र यिनका त ब्वाईफ्रेण्ड या गर्लफ्रेण्ड होलान् भन्ने अनुमानका भरमा कुरा अघि बढाउन आँट नगर्दा ३० वर्ष नाघिसकेका पनि थुपै भेटिन्छन् ।
यही समस्यालाई हल गर्ने उद्देश्यले ड्यालसको मन्दिरले बरबधु मिलन कार्यक्रम थालनी गरेको हो । नेपाली मन्दिरले एक वर्षसम्मको गृहकार्य एवं कानुनी तथा व्यवहारिक पक्षको अनुसन्धान पछि यो कार्यक्रम सुरुवात गरेको छ ।

‘आफ्नै नेपाली संस्कार र संस्कृति भित्रै बर तथा वधू चाहनेहरूका लागि सजिलो र विश्वासयोग्य प्लेटफर्म हुनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो’ डा.अधिकारीले प्रस्टाए । अमेरिकामा सामाजिक सञ्जालका माध्यमबाट वा भारतीयले जोडी मिलाउने वेबसाइटहरू चलाएका छन् । तर नेपाली समुदाय र अझै विशेषगरि अमेरिकामा नेपालीले स्थापना गरेको मन्दिरबाट यस्तो वैवाहिक कार्यक्रम पहिलो पटक सुरु भएको हो ।

‘यो कार्यक्रमबाट बरले उपयुक्त वधू र बधुले आफूले खोजेको जस्तो वर पाउन सक्ने अवस्था सिर्जना हुनेछ’ कार्यक्रमकी वेबसाइट निर्देशक डा. विष्णुमाया उपाध्यायले भनिन् । झट्ट हेर्दा कार्यक्रमको प्रारूप म्यारिज ब्युरोको जस्तो देखिन्छ । तर सामाजिक तथा धार्मिक संस्थाले कुनै व्यबसायीक प्रयोजनका लागि नभै समुदायकै लागि यो कार्यक्रम सुरु गरेको हो ।

अमेरिकामा सम्पर्क तथा पहुँचको अभावले अध्ययन सकेर, राम्रो काम गरेर विवाहयोग्य उमेर पुगेका थुप्रै नेपालीहरू छन् । तिनलाई एउटै वेबसाइट मार्फत सम्पर्कमा जोड्ने पुलको काम मन्दिरले गर्न लागेको हो ।

यो कार्यक्रममा सहभागी हुनका लागि १८ वर्ष उमेर पुगेकाहरूले वेबसाइटमा गएर आफ्नो विवरण भर्नुपर्छ । अभिभावकले समेत आफ्ना विवाहयोग्य छोराछोरीका लागि फर्म भर्न सक्नेछन् । ‘वेबसाइटमा भरिएका सबै विवरणहरू गोप्य हुनेछन् । उहाँहरूको विवरणहरू मध्यबाट जात, उमेर, उचाइ, शैक्षिक योग्यता लगायतका विवरण मात्र वेबसाइटमा सार्वजनिक हुनेछन्’ बरबधु कार्यक्रमको लागि सहरीकरण गर्नुहुने मन्दिरका पुजारी मेघराज निरौलाले भने ।

आवेदन दिनका लागि https://www.ourncsc.org/bar-badhu-milan-nepali-matrimony/application-form मा गएर सबै विवरण भर्नुपर्छ । मजाकको विषय नहोस् र सिरियस व्यक्तिहरूले मात्र आवेदन दिउन् भनेर ९९ डलर शुल्क राखिएको छ । निःशुल्क गर्दा हेरौँ न त भनेका भरमा जथाभाबी दर्ता हुने सम्भावना देखिएपछि शुल्क राखिएको हो । केही समयका लागि शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । यो प्रवर्द्धनात्मक अवधिका लागि छुट गरिएको हो ।

बर बधूको लागि भनेर भरिएका व्यक्तिगत डाटाको सुरक्षा लगायतका कानुनी प्रकृयाका बारेमा मन्दिरले निकै लामो अध्ययन गरेको छ । यही क्षेत्रमा लागेका अमेरिकी कानुनका ज्ञाताहरू समेतको परामर्शमा वेबसाइटको डिजाइन गरिएको छ । यो कार्यका लागि मन्दिरले झन्डै एक वर्ष समय खर्चिएको संयोजक डा. अधिकारीले उल्लेख गरे ।

‘पछिल्लो समयमा हाम्रो समुदायका लागि कुन कुरा बढी आवश्यक छ भनेर हेर्दा विवाहयोग्य उमेर पुगेका थुप्रै व्यक्तिहरू देखिएको र जोडा मिलाउन सक्ने निकाय नभएपछि यो कार्यक्रम सुरु भएको हो’ नेपाली मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेलले थपे ।

बरबधु कार्यक्रममा सहभागी हुनका लागि अमेरिकामै नभए पनि हुन्छ । नेपालमा रहेका र विवाहयोग्य उमेर पुगेकाले आफूले चाहे अनुसारको बरबधु उल्लेख गरेर पनि फर्म भर्न सक्नेछन् । फर्म भर्दा कुन देशमा रहेकासँग विवाह गर्न चाहेको समेत उल्लेख गर्न सकिन्छ ।

अमेरिकामा रहेकाले नेपाल वा अन्य देशमा र नेपालमा रहेकाले पनि अमेरिका लगायत अन्य देशमा रहेका नेपालीसँग विवाह गर्नका लागि आफ्नो विवरण भरेर वेबसाइटमा राख्न सक्छन् । वेबसाइटमा रहने हरेक व्यक्तिका लागि छुट्टा छुट्टै आइडी नम्बर हुन्छ । त्यही आइडी नम्बरका उल्लेख गरेर मन्दिरका पुजारी तथा सहजकर्ता मेघराज निरौलासँग सम्पर्क गर्न सकिन्छ ।

सहजकर्ताले दुवै पक्षको फोन नम्बर आदान प्रदान गरेर भेट गराउने व्यवस्था गर्नेछन् । दुवै पक्षबिच भेटघाट पछि चित्त बुझेमा विवाह गर्ने या नगर्ने सबै निर्णय सम्बन्धित व्यक्तिकै हुनेछ । ‘भेट गराई दिनेसम्मको दायित्व मन्दिरको हो, त्यसपछि उहाँहरुबीचनै सहमतिमा बिहेको कुरा अघि बढाउने या रोकिने निधो हुन्छ’ डा. अधिकारीले भने ।

अविवाहित मात्र नभएर कानुनी रूपमा डिभोर्स भैसकेका, पति या पत्नीको निधन भएका व्यक्तिले पनि फर्म भरेर बुझाउन सक्नेछन् । सामाजिक सेवाका रूपमा मन्दिरले थालनी गरेको यो कार्यक्रमबाट नेपाल बाहिर प्रवासमा रहेका धेरै व्यक्तिहरू लाभान्वित हुन सक्नेछन् ।

अमेरिकामा रहेका र नेपालमै बिहे गर्न चाहने, नेपालमा रहेका र अमेरिकामा रहेका नेपालीसँग बिहे गर्न चाहनेलाई यो कार्यक्रमबाट निकै सहजता हुने प्रतिक्रिया समुदायका अगुवाहरूले व्यक्त गरेका छन् ।

यो कार्यक्रमप्रति अमेरिकाका विभिन्न राज्य तथा सिटीहरूमा रहेका नेपाली सामुदायिक संस्थाहरूले चासो देखाएका छन् । अमेरिकामा दोस्रो पुस्ताका नेपालीहरूको सङ्ख्या बढ्दै गएको, उनीहरू विवाहयोग्य उमेरका भैसकेका र विद्यार्थीहरूले समेत यतै बिहे गरेर बस्नेतर्फ चाहना देखिएपछि यस प्रकारको कार्यक्रमको आवश्यकता रहेको देखेपछि मन्दिरले अघि सारेको हो ।

प्रतिक्रिया