अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

माओवादी केन्द्र पहिचान नभएको पार्टी : पृथ्वीसुब्बा गुरुङ

बिआरटीनेपाल २०७८ पुष १३ गते ५:१२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशभक्तिको सवालमा माओवादी केन्द्रको कुनै पहिचान नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै गुरुङले एमाले मुलुकको पृथक पहिचान बनाएको पार्टी भएका बताउनुभयो । देशभक्तिपूर्ण आन्दोलनको च्याम्पियन एमाले भएको उहाँको दावी छ ।

पार्टीका प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका नेता गुरुङले एमालेले सारा नेपालीलाई एकताबद्ध गरेको बताउनुभयो ।नेता गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो । एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको बताउदै नेता गुरुङले पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाउनुभयो ।

त्यस्तै एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले अदालतको परमादेशबाट सरकारबाट बाहिरनुपरे पनि एमाले जनताको मनमा बस्न सफल पार्टी भएको दावी गर्नुभयो । उहाँले एमाले एकल बहुमतको सरकार बनाउने गरी लागिपरेको बताउनुभयो ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा प्युठान जिल्ला इञ्चार्ज सूर्य थापाले संगठनलाई प्रविधिमैत्री बनाउँदै जानुपर्ने बताउनुभयो । एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले लुम्बिनीको विकासमा एमाले नेतृत्वको सरकारको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सही विचारधारामा आधारित पार्टी एमाले रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू