अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

निर्मला–नन्कुन्नी हत्या प्रकरण सरकारकै मिलेमतोमा– डा. भट्टराई

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:०२ मा प्रकाशित

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्य÷तथ्य बाहिर नआउनुले त्यो घटना सरकारकै मिलेमतोमा भएको शङ्का उब्जिएको बताउनुभएको छ । आज सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गएको मङ्सिर ९ गतेदेखि माइतीघर मण्डलामा भइरहेको अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरूलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शङ्कास्पद भएको टिप्पणी गर्नुभयो ।

उहाँले आजसम्म घटनाको न्यायपूर्ण छानबिन नहुनु र सत्य÷तथ्य बाहिर नआउनुले घटनामा सरकारकै मिलेमतो भएको शङ्का उब्जिएको बताउनुभयो । सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने डा. भट्टराईको भनाइ छ । राज्य अपराधीको पक्षमा उभिनु र नागरिकलाई शान्ति सुरक्षा नदिनु गम्भीर गल्ती भएको भन्दै उहाँले अपराधीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताउनुभयो ।

निर्मला र नन्कुन्नीको हत्या प्रकरणमा छानबिन समितिले पेस गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटो भन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्य÷तथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरूले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन् ।

महिला अधिकारकर्मी रुबी खानले आफूहरू महिनौँदेखि न्यायका लागि धर्ना बसेको भए पनि सरकार आफूहरूको मागमा संवेदनशील नभएको बताउनुभयो । उहाँले महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासिन रहेको बताउनुभयो । धर्ना दिइरहेका महिला अधिकारकर्मीहरूले माग पूरा नभएसम्म कार्यक्रम जारी रहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू