अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

ओमिक्रोनको असर – अमेरिकाको यात्रामा कडाई, जर्मनीमा खोप नलगाएकाहरुलाई सार्वजनिक स्थानमा प्रतिबन्ध

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:१८ मा प्रकाशित

आठ जना अमेरिकी नागरिकमा कोरोनाको ओमिक्रोन भाइरस संक्रमणको पुष्टि भएपछि अमेरिकाले यात्रा नियमलाई कडा बनाएको छ । नयाँ नियम अनुसार आगामी मार्चसम्मका लागि सार्वजनिक स्थान, यातायात र हवाइ यातायातमा समेत मास्क अनिवार्य गरिएको छ ।

यस्तै अमेकिारबाट बाहिर जान चाहने यात्रुहरुले २४ घण्टा अगाडि कोरोना परीक्षण गरेको हुनुपर्ने छ । क्यालिफोर्नियामा एक जना ओमिक्रोन संक्रमित भेटिएको लगत्तै न्युयोर्कमा ५ जना तथा मिनेसोटा र कोलोराडोमा एक एक जना संक्रमित देखिएपछि नयाँ नियम जारी गरिएको हो।

यस्तै स्वास्थ्य वीमा गरेकाहरुलाई निजी वीमा कम्पनीहरु मार्फत घरमै स्वास्थ्य परीक्षणको ब्यवस्था गरिएको छ भने इन्स्योरेन्स नगरेकाहरुलाई स्वास्थ्यचौकी र दुर्गम स्वास्थ्य केन्द्रहरुबाट घर घरमै परीक्षण गर्ने ब्यवस्था पनि गरिएको छ । यस्तै पाका उमेरका नागरिकहरुलाई बुस्टर डोज लगाउने र खोप नलगाएकाहरुलाई खोप लगाउन प्रोत्साहित गरिने भएको छ ।

तर अमेरिकाले लकडाउन भने नगर्ने भएको छ । यता, जर्मनीमा भने कोरोनाको खोप नलगाएकाहरुलाई सार्वजनिक स्थानमा घुलमिल हुनबाट रोकिने भएको छ । विदा हुन लागेकी जर्मन चान्सलर एंगेला मर्केलले देशका क्षेत्रीय नेताहरुसंगको छलफलपछि यस्तो निर्णय लिनुभएको हो । रेष्टुराँ, सिनेमाहल, शपिङमल जस्ता सार्वजनिक स्थानमा खोप लगाएका वा भर्खरै कोरोना निको भएकाहरुलाई मात्रै प्रवेश अनुमति दिइने छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू