अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

न्युयोर्कमा केआरएसएद्वारा रक्तदान सम्पन्न

बिआरटिनेपाल संवाददाता, न्युयोर्क २०७८ असार १३ गते २२:२१ मा प्रकाशित

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ पाउन्ड रक्तदान भएको छ ।

केआरएसएले आफ्नो १७ औँ स्थापना दिवसको अवसरमा जुन २६ मा रक्तदान कार्यक्रम गरेको हो । ‘कोरोनाभाइरस लगायतका कारण रक्तदानमा कमी आएकाले न्यु योर्क ब्लड सेन्टरले ब्लड इमर्जेन्सीको घोषणा गरेको थियो’ केआरएसएका केन्द्रीय अध्यक्ष राम कुमार राईले भने, ‘हामीले आयोजना गरेको रक्तदान कार्यक्रमले रगतको अभावलाई कम गर्न थोरै भए पनि सहयोग पुगेको छ ।’ कार्यक्रम सेन्टरकै समन्वयमा भएको थियो ।

रक्तदानका लागि नेपाली समुदायका ७६ जनाले नाम दर्ता गराएका थिए । त्यसमध्ये १० जनामा उक्त रक्तचाप, निम्न रक्तचाप तथा रगतमा हेमोग्लोबिन लगायतका समस्या देखिएको थियो । त्यसपछि उनीहरूले रक्तदान गर्न पाएका थिएनन् ।

केआरएसएले गत वर्ष पनि रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको थियो । गत वर्षको रक्तदान कार्यक्रममा ६३ पाउन्ड रगत सङ्कलन भएको थियो । कोरोनाभाइरसको महामारीका कारण केआरएसएले विभिन्न समयमा नियमित रूपमा गर्दै आएको सांस्कृतिक र सामुदायिक भेला बन्द गरेको छ । केआरएसएले अनलाइनबाट गर्न सकिने कार्यक्रम र अन्तरक्रिया आदिलाई भने निरन्तरता दिएको छ । न्यु योर्क पूर्ण रूपमा खुल्नसाथ केआरएसएको रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रम क्वीन्सको उडसाइडस्थित सत्यनारायण मन्दिरमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भएको थियो । रक्तदाता र स्वयंसेवकलाई संस्थाका वरिष्ठ सल्लाहकार मणि बाङ्देलले सम्मान पत्र प्रदान गरेका थिए ।

सम्बन्धित सामग्रीहरू