अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ९:५९ मा प्रकाशित

न्यु योर्क । किराँत याक्थुङ चुम्लुङ अमेरिकाले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न आठौँ महाधिवेशनले थाम्सुहाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो ।

महाधिवेशनले आगामी २०२१\२३ को कार्यकालको लागि वरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बू, उपाध्यक्षमा ममता सुब्बा लाबूङ, महासचिवमा सूर्य लिङदेन लिम्बू, सचिवमा दीपक थेबे लिम्बू, कोषाध्यक्षमा पी के थक्लुङ लिम्बू, सह कोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बोलाई चयन गरेको छ ।

त्यसै गरी सदस्यहरूमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू, विवश माङमू लिम्बू, बानू तुम्बाहाम्फे लिम्बू, सम्झना लाबूङ लिम्बू, जीवन खजुम लिम्बू, सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू, निलम जबेगु योङ्हाङ सर्बसहमतिमा निर्वाचित भएका छन् भने बाकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकद्वारा मनोनीत गर्ने बताइएको छ ।

कियाचु निवर्तमान अध्यक्ष विरेन्द्रहाङ लाबुङ लिम्बुको अध्यक्षतामा सम्पन्न आठौँ महाधिवेशनको प्रमुख अतिथिको रूपमा रहेका नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले परदेशमा सामुदायिक सङ्घ संस्थाले अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले कियाचु अमेरिकाको अबको कार्यभार अमेरिकाको मूलधारमा लिम्बु कला संस्कृति र पहिचानलाई स्थापित गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजानु नै सबैको मुख्य कर्तव्य रहेको बताए ।

चेम्जोङले नेपालमा याक्थुङ लाजेमाको पहिचान माथि राज्यसत्ताद्वारा गरिएको सांस्कृतिक अतिक्रमणहरूको विरुद्धमा सशक्त आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कियाचु अमेरिकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितिमा सदस्यहरू मुनीन्द्र नेम्बाङ र गणित सुब्बाले बन्दशत्रको सञ्चालन तथा निर्वाचन प्रक्रियामा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

महाधिवेशनको उद्घाटन सत्रमा किराँत राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष राम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष केशवराम राई, कियाचु पूर्व अध्यक्ष देवेन्द्र सम्बाम्फे र कानुनी सल्लाहकार दुर्गा सुब्बाले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै नवनिर्वाचित कार्यसमितीलाई तुम्याहाङ प्रेम मेयाङबो, मदत सम्बाम्फे, केशरमान लिम्बु, निर्वाचन समिति सदस्य मुनीन्द्र नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफ्नो कार्यकालमा कियाचुको आफ्नै चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरुवात आफैबाट गर्ने भन्दै पाँच हजार डलर दिएर सुरुवात गरेको घोषणा गरे का थिए ।

नेपाली अमेरिकन समुदायमा सधैँ एक ढिक्का भएर समुदायको सेवामा समर्पित चुम्लुङ सन २००४ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया