अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

साकुरा फुल्ने देश र चेरी फुल्ने देशमा बसोबास गर्ने नेपाली कविहरू बिच भर्चुअल कवि गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ९:५४ मा प्रकाशित

नयाँ वर्ष २०७८ को सुरुवातमै नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा अप्रिल २४, २०२१ मा जापान— नर्थ क्यारोलाइना भर्चुअल कवि गोष्ठी सम्पन्न भयो ।
नम्रता गुरागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई संस्थाका सदस्यहरू क्रमशः उमा शर्मा र गीता बस्नेतले पालैपालो आमन्त्रित तथा स्थानीय स्रष्टाहरू सबैलाई नर्थ क्यारोलाइनाको भर्चुअल आँगनमा स्वागत गर्नुभयो ।

साहित्यकारहरूका सृजनालाइमात्र ध्यानमा राखेर आयोजना गरिएको कवि गोष्ठीमा जापानमा हुर्की बढेका र अमेरिकामा हुर्की बढेका नेपाली गीत, कविता, गजल, मुक्तक र हाइकुहरू वाचन गरिए । गुराँस फुल्ने देशबाट छरिएर कोही साकुरा फुल्ने देशमा त कोही चेरी फुल्ने देशमा श्रम फुलाइरहेकाका स्रष्टाहरूको भावनात्मक दुरी एकै ठाउँमा पारेर सबैले घर सम्झिँदा लाग्थ्यो भावनालाई न पहाडले छेक्दो रहेछ न हिमालले, न सिमानाले छेक्दो रहेछ न त राहदानीले नै ।

सृजनाले भित्री हृदय छुवाउन सफल कविहरूले कविता वाचन गर्दा कहिले मन अग्लिएर हिमाल जत्रै भयो भने कहिले मन पग्लिएर पानी पानी भयो । यसरी मन पगाल्ने खुबी बोकेका कविहरूमा गिरिजा गैह्रे, प्रभा पोख्रेल, निर्मला राजभण्डारी, दीप पाठक, आनन्द अधिकारी, सुजाता ढुङ्गेल, हेमन्त गिरी, दीपेन्द्र विष्ट, अरुण पौडेल, ददिन पाण्डे, डा.अच्युत शर्मा, रबिन शर्मा, डा. ऋषि बस्ताकोटी, जयन्ती मगर सरगम, विक्रम गौतम, गीता बस्नेत, उमा शर्मा र नम्रता गुरागाईं हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू