अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

तिम्रो चोखो प्रेमको नजरमा निर्देशक आकाश अधिकारी

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:४२ मा प्रकाशित

काठमाडौँ । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको भिडियो गीत त्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक गरिएको छ । भिडियो गीतका निर्माण टिमले राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गदैै गीतको भिडियो सार्वजनिक गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विशेष अतिथि रहेको कार्यक्रममा भिडियो गीतका प्राविधिक तथा कलाकार र अन्य अतिथिहरूको उपस्थिति रहेको छ ।

उमा गिरी ‘बेबी’ निर्मात्री रहेको भिडियोमा आकाश अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । गीतमा उमा र आकाश दुवै फिचर्ड छन् । नेपाली सेनाको कथा समेटिएको गीतमा माया र बिछोडको चरणलाई देखाइएको छ ।

नेपाली सेनाहरू आफ्नो परिवारलाई छोडेर देशका लागि बलिदान दिन तयार हुने विषयलाई गीतको कथामा प्रस्तुत गरिएको छ । देशका लागि लड्ने नेपाली सेना र उनको परिवारको मायालाई गीतमा प्रस्तुत गरेको छ । यस्तै भिडियोमा नेपाली सेनाको संस्कारलाई समेत कलात्मक रूपमा प्रस्तुत गरिएको छ । जसमा नेपाली सेनाको भूमिकामा आकाश अधिकारी देखिएका छन् ।

गीतले पर्यटन प्रवर्द्धनलाई समेत टेवा पुग्ने गरी प्राकृतिक सौन्दर्यताकलाई समेत प्रस्तुत गरेको छ । रारा ताल आसपास छायाङ्कन गरिएको गीतले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने भन्दै विशेष अतिथि दयाराम दाहालले शुभकामना व्यक्त गरे । उनले कोभिडको मारमा रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन यस्तै खालको कार्यक्रमहरूको आवश्यकता रहेको भन्दै चलचित्रकर्मीलाई भिडियो चलचित्र, गीत, छोटो चलचित्रहरू बनाई रहन आह्वान गरे ।

यस्तै आम नेपाली सेनाहरूको कथालाई समेटिएर निर्माण भएको गीत निकै राम्रो भएको र राष्ट्रिय गीतको रूपमा रहने दाबी गर्दै प्रमुख अतिथि शेखर गोल्छाले शुभकामना व्यक्त गरे । उनले नेपाली चलचित्र क्षेत्र र यसको चलायमान तथा श्रीवृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ सधैँ साथमा रहने प्रतिबद्धता दिँदै गीतको सफलताको लागि शुभकामना व्यक्त गरे ।

चलचित्र क्षेत्रले पनि उद्योगको मान्यता पाएको र अब यसको विकासका लागि महासङ्घ समेत जिम्मेवारी हुने भन्दै चलचित्र उद्योगका समस्याहरू हल गर्न आफू पनि लागिपर्ने अध्यक्ष गोल्छाले बताए ।

सुमधुर स्वरका धनीद्धय गायक आनन्द कार्की र गायिका अन्जु पन्तको स्वर रहेको गीतको शब्द रचना जीत बहादुर घले (जेबी संयोगी)ले गरेका हुन् । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् ।

पुरुषोत्तम प्रधानले खिचेको गीतलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गीतमा आकाश र उमाको अलवा शिव भट्ट, दिप्त प्रकाश अधिकारी, ईशान विजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई बाबुल गिरीले सङ्गीतबद्ध गरेका छन् ।

समीर बलामीले सञ्चालन गरेको भिडियो गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिको हातबाट सहयोगी र भिडियोका टिमलाई कदर पत्र समेत प्रदान गरिएको छ ।
फोटो – क्यानाडा नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू