अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

नर्थ क्यारोलाइनमा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस सन्दर्भमा भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ फागुन २३ गते २१:१२ मा प्रकाशित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा मार्च ६, २०२१ मा “अन्तर्राष्ट्रिय नारी दिवस” को सन्दर्भमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने महिला साहित्यकारहरुलाइ निमन्त्रणा गरेर भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

तीन चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा संस्थाकी कोषाध्यक्ष सुजाता ढुङ्गेलले संस्थाको परिचय दिनुको साथै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन किन सुरु गरियो र यसले हामी महिलाहरूलाई कस्तो प्रभाव पारेको छ भन्ने कुरामाथि थोरै प्रकाश पार्दै आमन्त्रित स्रष्टाहरू तथा स्थानीय स्रष्टाहरूलाई नर्थ क्यारोलाइनाको भर्चुअल आँगनमा स्वागत गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा संस्थाकी अध्यक्ष नम्रता गुरागाईंले न्यूयोर्कका महिलाले समान ज्याला, काम गर्ने निश्चित समय र भोटको अधिकारका लागि सुरु गरेको आन्दोलनको नाम “राष्ट्रिय नारी दिवस” राखे पनि पछि विश्वका अरू देशका नारीहरुलेपनि त्यही समस्या भोग्दै आएकाले सबैलाई प्रतिनिधित्व हुने गरी आन्दोलनको नाममा अन्तर्राष्ट्रिय थप्नुपर्छ भन्ने क्लारा जेटकिनलाइ हरेक महिलाहरूले संझनैपर्छ भन्ने कुराको जानकारी दिदैं कार्यक्रमको मेलो पस्नुभयो ।

कार्यक्रमलाई शुभकामना दिँदै संस्थाका सल्लाहकार ईश्वर देवकोटाले समय समयमा भइरहने महिला हिंसा र हत्या बन्द हुनुपर्छ र साहित्यमा लागेका महिलालाई कोटामा पारेर पुरस्कृत नगरी उनीहरूको क्षमतालाई पुरस्कृत गर्नुपर्छ भन्नुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) बोर्ड अफ ट्र्रष्टीकी अध्यक्ष गीता खत्रीले महिलालाई पुरुष सरह समान शिक्षा दिनुपर्छ ताकि पछि उनीहरूलाई आफ्नो अधिकार खोज्नकोलागि सहयोग गरोस भन्नुभयो । अनेसासकी पूर्व उपाध्यक्ष साहित्यकार भारती गौतमले नारीवाद पुरुषको विरोध गर्न मात्र मनाइएको हो कि जस्तो भएको छ अहिले, यो उनीहरूको विरोध गर्न नभै सहयोग गर्नका लागि हो, उनीहरूसँगै हातमा हात मिलाउनको लागि हो भन्ने सन्देश हामी महिलाहरूले दिनुपर्छ भन्नुको साथै हामी महिलाले आफूले आफूलाइ सम्मान गर्न सिकौँ भन्नुभयो । यस्तै साहित्यकार निलम कार्की निहारिकाले हाम्रो सामाजिक संरचनामा धेरै अप्ठयाराहरु छन् तर आत्मबल नै ठुलो शक्ति हो भन्नुको साथै हामीले गरेको कामलाई समाजले पुरुषसँग नदाँजी हेरोस् साथै नारीले गरेका कुनै पनि राम्रा कामलाई सानो बनाएर नहेरोस् भन्नका लागि हामी निरन्तर लागिरहनुपर्छ भन्नुभयो ।

कार्यक्रमको तेस्रो चरणमा अनेसासका विभिन्न च्याप्टरहरूमा रहेर नेपाली साहित्यको भण्डारमा इँटा थपिरहनुभएका आमन्त्रित महिला स्रष्टाहरू र स्थानीय स्रष्टाहरू बिच आ–आफ्ना रचना वाचन भयो । रचना वाचन गर्नेहरुमा सकुन् ज्ञवाली र गीता खत्री न्यूयोर्कबाट, उर्मिला निर्दोषी मिजौरीबाट, दिपा राई पुन बोस्टनबाट, तारा अधिकारी कोलोराडोबाट, सीता अर्याल विसकन्सिनबाट, कमला न्यौपाने क्यान्सरबाट, हरिमाया अधिकारी न्यूह्याम्पसायरबाट र भारती गौतम फ्लोरिडाबाट हुनुहुन्थ्यो भने नर्थ क्यारोलाइनाका विभिन्न सहरबाट प्रभा पोख्रेल, सविता विष्ट, गीता बस्नेत, डा. सुस्मा प्रधान, राधा पौडेल, नगेन्द्र न्यौपाने, निर्मला राजभण्डारी, भगवती न्यौपाने, उमा शर्मा, सुजाता ढुङ्गेल, महेन्द्र न्यौपाने र ईश्वर देवकोटा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू